दमक/ आज मसिंर शुक्ल पूर्णिमा । विभिन्न जाति समुदायले आज उद्यौली पर्व विशेष रुपमा मनाउँदैछन् । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला अर्थात भुमेलाई धन्यवाद दिने गरिन्छ ।
किराँत समुदायले पितृको मान र प्रकृतिको सम्मानका रूपमा मनाउँदैछन् ।
उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् ।
किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई बताउँछन् ।
किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।
भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउछन् ।
ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो हात्तीवनमा आज पूजाआजासहित किरात चाड विशेष रूपमा मनाइन्छ ।
पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् ।
जसलाई पर्यावरण अनुकूलता अनुरूपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताए । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रक्रियालाई उधौली र उभौली पर्वको रूपमा लिने गरिन्छ ।