दमक/ कमल गाउँपालिका वडा नं ५ पाडाजुँगीस्थित आभाष बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
स्थानीय रोडस्टार पार्टी प्यालेसमा औपचारिक कार्यक्रम गरि संस्थाले उत्कृष्ट कारोवार गर्ने बालबचत ,उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार वितरणसहित साधारणसभा सम्पन्न गरेको हो ।
पुरस्कृत हुनेहरुमा उत्कृष्ठ बालबचततर्फ सेसिका निरौला,जेस्नवी निरौला, सुयोग पोख्रेल, जेनिस विष्ट,जिज्ञासा विष्ट, युविन विष्ट ,फूङसा लिम्बू, विष्णु राई , रोनक साह तथा उत्कृष्ठ कारोवार गर्नेतर्फ सुदिशकुमार अग्रवाल,राधेश्याम चौधरी,दिपेन्द्र कुमार साह, मदन राई,महेश कार्की लगायत रहेका छन् ।
जिल्ला सहकारी संघका सदस्य विनोद ढकालको प्रमुख आतिथ्यतामा भएको सभाको उदघाटनमा संस्थाका अध्यक्ष विनोदकुमार पाण्डेले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका तर्फवाट लेखा संयोजक हेमकुमार न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरेको व्यवस्थापक दिनेश अधिकारीले बताए ।


सभामा प्रमुख अतिथि ढकाल, सहकारी समन्वय समिति कमल ५ का अध्यक्ष प्रमोद कुमार दाहाल,लगनशील कृषि सहकारी संस्थाका अध्यक्ष गोविन्द खनाल ,सशक्तीकरण महिला साकोसकी अध्यक्ष नरमाया तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका सल्लाहकार समितिका सदस्य कुमार भण्डारीले सञ्चालन गरेको सभामा संस्थाका उपाध्यक्ष पदमबहादुर निरौलाले स्वागत मन्तव्य राखेका थिए ।
१२ सय १४ जना शेयर सदस्य रहेको सहकारीमा गएको वर्षसम्म ६४ लाख १३ हजार ५ सय शेयर पूंजी, निक्षेप ३ करोड ६६ लाख १७ हजार ८ सय ९९ ,ऋण लगानी ३ करोड ७३ लाख २४ हजार ८ सय ६० रुपैया रहेको प्रतिवेदनमा उल्लेख छ ।

सोहि अवसरमा संस्थाले आफना सदस्यहरुका लागि गौरादहस्थित आईएमई लाइफ ईन्स्योरेन्ससंगको सहकार्यमा बिमा सम्झौता हस्तान्तरण गरिएको थियो ।
सभामा चन्द्रदर्शन सहकारीका अध्यक्ष शेरबहादुर श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाका सभापति चन्द्र साह लगायतका सहकारी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु,शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box