दमक/मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेमा गौ संरक्षण र श्रीकृष्ण गौशाला हितका लागि अक्षय कोष निर्माण सहयोगार्थ श्रीमद् भागवत महापुराण तथा धनधान्याञ्चल सुरभीको आयोजना गरिएको छ ।
प्राचिन इतिहास भएको श्री गणेश मन्दिर जाँतेमा स्थापित श्रीकृष्ण गौशाला संरक्षण तथा सञ्चालनका लागि पुष १ गतेदेखि सो महापुराण सञ्चालन भइरहेको हो । आयोजक समितिका मनोरथ घिमिरेका अनुसार गत बर्ष २०८० साल पुष ७ गते गीता जयन्तीको अवसर पारेर श्रीकृष्ण गौशालामा पहिलोपटक महापुराण सञ्चालन गरिएको थियो । भक्तजनहरुको माग र गौशाला संरक्षण तथा सञ्चालनमा थप सहयोग जुटाउने उद्धेश्यले यस बर्ष पनि सो अनुष्ठानलाई निरन्तरता दिइएको हो ।


भव्य तयारीपछि आयोजना गरिएको सो धार्मिक अनुष्ठानमा सो क्षेत्रका धार्मिक, तथा आध्यात्मिक अगुवाहरु, गौसेवक दाताहरुको उल्लेखिय सहभागिता छ । सो गौशालालाई देशकै आदर्श र नमुना गौशालाको रुपमा बिकास गर्ने र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा अघि बढाउने स्थानीयबासीहरुको लक्ष्य रहेको घिमिरेले बताए ।
सो महापुराणमा पण्डीत घनश्याम खनालले प्रमुख वाचकका रुपमा कथा श्रवण गराइरहेका छन भने उपवाचकमा पण्डीत सुदिप ढुंगाना रहेका छन् । महापुराणभर दैनिक पूजा, दैनिक १० बजेदेखि ३ बजे सम्म कथावाचन र सन्ध्याकालिन आरती रहेको छ भने साँझ ७ बजेदेखि ९ बजे सम्म महात्म्य र संगीतमय भजन कीर्तन सञ्चालन भइरहेको छ । पुष ७ गते सम्म सञ्चालन हुने सो महापुराणमा गौसेवाका लागि सहयोग प्रदान गर्ने दाताहरुलाई विभिन्न समुहमा वर्गीकृत गरेर सम्मान गरिने आयोजक समितिले जनाएको छ ।

Facebook Comments Box