दमक/ विर्तामोडमा मुख्य कार्यालय स्थापना गरेर पूर्व क्षेत्रमा वित्तीय कारोबार गर्दै आएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कमल गाउँपालिका वडा नम्बर ७ स्थित एक सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई किताब बोक्ने झोला वितरण गरेको छ ।
संस्थाले कमल ७ स्थित अरनिको प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरेको हो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सो बिद्यालयका १ सय बालबालिकालाई एक÷एक थान स्कूल ब्याग वितरण गरेको संस्थाका सञ्चालक नविन योगीले जानकारी दिए । संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत सो सहयोग प्रदान गरिएको उनले बताए ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्था विर्तामोड–४का संस्थापक अध्यक्ष कमल बहादुरले संस्थाले सदस्यहरुमाझ वित्तीय कारोबार मात्रै नगरेर समुदायप्रतिको उत्तरदायित्व समेत बहन गरेको बताए ।
कमल ७ का वडाध्यक्ष पृथ्वीपति राईको प्रमुख आतिथ्य र सहकारी संस्थाका अध्यक्ष सुबास भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बिद्यालयकी प्रधानाध्यापक मिनादेवी लाओतीले आगामी दिनमा पनि यस्ता सहयोगका कार्यक्रमहरु ल्याउन सकिए बिद्यार्थीहरुको पठनपाठनमा सहजता पुग्ने भन्दै धन्यवाद व्यक्त गरिन् ।
विपन्न परिवारका छोराछोरी साथै आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई यस किसिमको सहयोगले सहज बनाउने वडाध्यक्ष राईले बताए ।
संस्थाका सञ्चालक सदस्य योगीले सञ्चालन गरेको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङक प्रसाद काफ्ले, पूर्व विद्यार्थी अनु ताजपुरिया , अभिभावक लगायतको उपस्थिती रहेको थियोे ।