दमक/  युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमता बिकास गराउँदै सामाजिक गतिबिधिमा क्रियाशील दमक जेसीज बर्ष २०२५ को अध्यक्षमा युवा व्यक्तित्व सहदेव भट्टराई निर्वाचित भएका छन् ।

दमक जेसीजको नयाँ नेतृत्व चयनका लागि ४४ औं बार्षिक साधारण सभा अन्तर्गत आइतबार भएको निर्वाचनमा अर्का प्रत्यासी निरोज आचार्यसँग १७ मतको फराकिलो मतान्तरसहित भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचनमा भट्टराई ५९ मत प्राप्त गर्दै विजयी भएका हुन भने आचार्यले ४२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा निर्वाचित भट्टराई बर्ष २०२४ मा दमक जेसीजको महासचिवको जिम्मेवारीमा थिए ।

दमक जेसीजले पूर्व अध्यक्ष सञ्जीब बरालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो । समितिले दुई जना कार्यकारिणी उपाध्यक्षमा रुवल अधिकारी र पुजन चौधरी निर्विरोध निर्वाचित भएपछि अध्यक्षसहित चार उपाध्यक्षका लागि निर्वाचन गरेको थियो । चार उपाध्यक्षहरुमा सरिता बराल (८३ मत), निसम अधिकारी ७८, धर्म ढुंगाना ६५ र सुमन कुमाल ६० मतसहित निर्वाचित भएका हुन् । त्यसैगरी जनसम्पर्क अधिकारीमा विशाल अधिकारी र तालिम निर्देशकमा कृष्ण भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

जेसीज विधान अनुसार महासचिव पदसहित अन्य विभिन्न पदमा मनोनित गरेर बर्ष २०२५ को टिमलाई पूर्णता दिइनेछ ।

Facebook Comments Box