दमक/  १२ औं राष्ट्रिय पोल्ट्री दिवसको सन्मुख पारेर अण्डा उत्पादक संघ झापाले दमकको एक सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई निशुल्क अण्डासहितको खाजा खुवाउने कार्यक्रम गरेको छ ।
संघले दमकको उत्तरी क्षेत्रमा पर्ने दमक ३ स्थित दुम्सेमा रहेको चुलाचुली माध्यमिक बिद्यालयका करिब पाँच सय बिद्यार्थीलाई अण्डा र चनाको खाजा वितरण गरेको हो । मंगलबार संघका झापा अध्यक्ष भरत चम्लागाइँसहित कुखुरापालक तथा अण्डा उत्पादक कृषि व्यवसायीहरुको समुह खाजा समय हुनु अगावै उसिनेका अण्डासहित खाजा सामान लिएर बिद्यालय पुगेका थिए ।


त्यहाँ संघले संक्षिप्त कार्यक्रम गर्दै अण्डा बढ्दो उमेरका बालबालिकाका लागि अति स्वास्थ्यवद्र्धक र पौष्टिकयुक्त खाने कुरा भएको जानकारी गरायो । संघका अध्यक्ष चम्लागाइँले विश्व पोल्ट्री दिवस हरेक बर्षको १८ पुषमा मनाउने गरिएको र यस बर्ष समेत सो सन्दर्भ पारेर विभिन्न स्वास्थ्य चेतना र मानव स्वास्थ्यका लागि अण्डाको महत्व दर्शाउँदै यो दिवस मनाइने जानकारी दिए ।
पोल्ट्री व्यवसायीहरुले कृषिजन्य उत्पादनका रुपमा रहेको अण्डा उत्पादन व्यवसायमा संलग्न व्यवसायीहरुलाई प्रोत्साहन गर्ने किसिमका नीति कार्यक्रमहरु ल्याउन नसकेको गुनासो गरेका छन् ।
अण्डा उत्पादनलाई गुणस्तरीय, स्वास्थ प्रतिस्पर्धात्मक बनाउन र यो व्यवसायमा निरन्तरताका लागि सरकारले भारतसँगको खुल्ला सीमाबाट हुने आयातलाई रोक्नुपर्ने माग गरेका छन् ।
भारतीय बजारबाट भित्रिने अण्डा र कुखुराको आयातमा कडाइँ गर्नु अहिलेको आवश्यकता भएको उनीहरुको भनाई छ ।


स्थानीय सरकारले बिद्यालय खाजामा अण्डाको प्रयोगलाइ प्राथमिकता दिए आफूहरूले सुलभ दरमा अण्डा उपलव्ध गराउने घोषणा गरे । संघले आजदेखि शुरू गरेको अण्डाको उपयोगमा प्रोत्साहन कार्यक्रम विभिन्न ठाउँमा तीन दिन सम्म चल्ने संघका प्रतिनिधि दमक एग्रिकल्चरका संचालक देवेन्द्र प्रसाँइले बताए ।
झापा जिल्लामा एकताका व्यवसायिक कुखुरापालन तथा अण्डा उत्पादन व्यवसाय धेरै चलेको भएता पनि कोरोना संक्रमणपछि आर्थिक मन्दिका कारण अण्डा लक्षित लेयर्स कुखुरा पाल्ने किसानको संख्या भने निक्कै घटेको संघले जनाएको छ ।
यस अघि झापामा १ सय बढी व्यवसायिक कुखुरा पालक किसान रहेकोमा अहिले सो संख्या आधा भन्दा धेरै घटेको छ ।
झापामा दैनिक १ लाख ८० हजार हाराहारीमा अण्डा उत्पादन हुँदै आएको संघले जनाएको छ ।
नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रिय सल्लाहकार माधव प्रसाद पराजुली, प्रदेश र जिल्ला समितिका प्रतिनिधि र किसान सहितको टोलीले अण्डाको प्रयोग बढाउन प्रोत्साहित गर्ने कार्यक्रमहरु चलाइएको बताएका छन् ।
बिद्यालयमा बिद्यार्थीहरुका लागि स्वास्थ्य चेतना भर्दै अण्डासहितको खाजा खुवाउने कार्यक्रम राखेकोप्रति बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारामान भुजेलले धन्यवाद व्यक्त गरे ।
सो कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक खुरहरी आचार्य, सहायक प्रधानाध्यापक पृथ्वी ढकाल लगायत पोल्ट्री व्यवसायीहरु, स्थानीय शैक्षिक सरोकारवालाहरु उपस्थित थिए ।

 

Facebook Comments Box