झापा/आलोपालो सरकारको नेतृत्व गर्ने भनेर विगतमा भएको गोप्य सहमतिको पालना हुनुपर्ने मत प्रचण्डले अघि सारेपछि यसबारे नेकपामा बहस सुरु भएको छ ।
प्रचण्डले सहमति कार्यान्वयनका लागि दबाव बढाएको कान्तिपुर दैनिकको निष्कर्ष छ । आजको कान्तिपुरले लेखेको छ– एक टेलिभिजन च्यानलसहितको अन्तर्वार्तामा उक्त अभिव्यक्ति दिएकै दिन यसअघि दुई अध्यक्षबीचको गोप्य सहमति भनिँदै आएको पत्रसमेत सार्वजनिक हुनुलाई प्रचण्डले पार्टी वा सरकारमध्ये एउटा आफूले पूर्ण रुपमा चलाउन पाउनुपर्ने वातावरणका लागि दबाव बढाएको अर्थमा बुझिएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले बजेटले नागरिकका तत्कालिक आवश्यकताको सम्बोधन र दीर्घकालीन विकासका दरिलो जग बसाल्न दुईधारे नीति लिएको भनेर व्यक्त गरेको भनाइलाई पनि कान्तिपुरले प्राथमिकतापूर्वक समेटेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएको दाबी पनि कान्तिपुरले गरेको छ । प्रधानमन्त्री ओलीलाई गत बुधबार कोरियाको काङ्नाम विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको थियो ।
कान्तिपुर लेख्छ– काङ्नामको धर्मप्रचार गर्ने स्वार्थ थाहा पाएपछि विशेष आवश्यकता शिक्षा (स्पेशल निड्स एजुकेशनरएसएनई) मा गरिएको सहकार्य त्रिभुवन विश्वविद्यालयले तोडेको थियो । काङ्नामले एसएनई विषय पठनपाठनका लागि सहकार्य गर्ने गरी डेढ दशकअघि त्रिविसित समझदारी गरेको थियो । तर, उक्त विश्वविद्यालयको स्वार्थ थाहा पाएपछि सहमति तोडिएको थियो । तर, अहिले त्यही विश्वविद्यालयले प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि दिएको छ ।’