दमक / झापाको दमक नगरपालिका वडा नम्बर ७ का १५ जना बृद्धबृद्धालाई घरमै नियमित स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गरिएको छ ।
दमक नगरपालिकाको घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत यसपटक सो वडाका ९० बर्षमाथीको उमेर समुहका १५ जनासँगै अन्य अपागंता भएका , असहाय नागरिकहरुलाई पनि स्वास्थ्यकर्मीहरुको टोलीले घरघरमै पुगेर निशुल्क स्वास्थ्य जाँच गरी आवश्यक औषधि उपचारको व्यवस्था मिलाएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी कर्मचारी टोलीसँगको समन्वयमा उपलब्ध तथ्याङकका आधारमा सो सेवा प्रदान गरिएको वडा सदस्य अतित बान्तवा राईले जानकारी दिए ।
वडाध्यक्ष भिमप्रसाद पौडेलले नगरपालिकाको बार्षिक नीति कार्यक्रम अन्तर्गत सो सेवा प्रदान गरिएको र कोही त्यस किसिमको सेवा लिनबाट बञ्चित भएको भए वडाले सहजीकरण गरेर थप सेवा प्रदान गर्ने बताए ।
उनले विपन्नताकै कारण समस्यामा परेका वडाबासीहरुलाई सहयोग गर्न सधैं तयार रहेको पनि बताएका छन् ।