दमक / झापाको दमक नगरपालिका वडा नम्बर १० का ९० बर्षमाथिका ज्येष्ठ नागरिक, अपाङगता र असहायहरुलाई स्थानीय सरकारले घरदैलोमानै पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ ।
दमक नगरपालिकाको चालू आर्थिक बर्षको नीति कार्यक्रम अन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखा र दमक नगर अस्पतालका चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुसहितको टोलीले माघ १३ र १४ गते दुई दिनसम्म सो वडामा सेवा प्रदान गरेको हो । सो क्रममा २५ जना बृद्धबृद्धा तथा अपाङगता भएका नागरिकहरुलाई नियमित स्वास्थ्य परिक्षणसँगै नियमित खानुपर्ने औषधिको सेवा प्रदान गरिएको वडाध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।

सो क्रममा अपाङगताको समस्या भएकी एक जनालाई उपप्रमुख भट्टराई र वडाध्यक्ष भण्डारीले संयुक्त ह्विलचियर हस्तान्तरण गरेकी छिन भने पाँच जना बृद्धबृद्धाहरुलाई टेक्ने लठठ्ी प्रदान गरिएको छ ।
नगरपालिकाकी उपप्रमुख भट्टराई, वडाध्यक्ष भण्डारी, वडा सदस्य जंगबहादुर लिम्बुसहित स्वास्थ्यकर्मीहरु सहभागी सो टोलीले शान्ती टोलमा बस्दै आएकी ७८ बर्षिया एक बृद्धालाई दमक नगर अस्पताल पठाएर उपचारको बन्दोबस्ती समेत मिलाएको छ ।

वडाध्यक्ष भण्डारीका अनुसार सो ठाउँमा आफ्ना नातेदारहरुको संरक्षणमा बस्दै आएकी बेदमाया भट्टराई केही समय अघि आँगनमै लडेर घाईते भएकी थिइन् । उनलाई लडेर लागेको चोटका कारण शरिरमा इन्फेक्सन शुरु भएकाले स्वास्थ्यकर्मीहरुको परामर्श अनुसार तत्काल एम्बुलेन्स मार्फत दमक अस्पताल पुर्याएर आवश्यक औषधि उपचारको व्यवस्था मिलाइएको छ । सो वडामा ९० बर्षमाथिको उमेर समुहका २९ जना बृद्धबृद्धा छन् ।
नगरपालिकाकी उपप्रमुख भट्टराईले दमक नगरपालिकाले ९० वर्ष माथिका वृद्ध बुवा आमा साथै क वर्गका अपाङ्गताको कार्ड भएका नगरबासीहरूका लागि घर घरमा गएर बिशेषज्ञ चिकित्सक सेवा सहित निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत सबै वडामा यस किसिमको कार्यक्रम हरेक तीन÷तीन महिनामा सञ्चालन गरिँदै आएको बताइन् । दुई साता अघि दमकको ७ नम्बर वडामा १५ जना बृद्धबृद्धालाई यस किसिमको घरदैलोमै निशुल्क स्वास्थ्य परिक्षण सेवा प्रदान गरिएको थियो ।
