दमक/ जंगली हात्तीको हैरानी खेपेका झापाको पूर्वीत्तर क्षेत्रका बासिन्दाका लागि हात्तीबाट जोगिन थापिएको विद्युतीय धराप अभिसाप बन्दै गएको छ ।
तत्कालिन बाहुण्डाँगी, गाविससहित मेची नगरपालिकाको उत्तरी क्षेत्र, तथा जिल्लाको दक्षिण क्षेत्र कचनकवल गाउँपािलका अन्तर्गतका तत्कालिन पथरीया, बालुवाडी , लगायतका क्षेत्रमा हात्ती रोक्नका लागि लगाइएको विद्युतीय तारबारमा परेर ज्यान गुमाउनेको संख्या बढ्दो रहेको हो ।
आईतबार साँझ मेचीनगर नगरपालिका–९ की ५७ बर्षीया बुद्धीमाया तामाङलाई हात्ती रोक्न लगाएको करेन्टले ज्यान लियो ।
बेलुका करीब साढे ५ बजे आफ्नै वारीमा हात्ती धपाउन लगाएको बिजुलीको तारमा गएका आफ्ना गाई वस्तु धपाउने क्रममा आफैलाई करेन्ट लागि तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच मोरङको सुन्दरहरैचा नगरपालिका ८ बिराटचोकमा भएको सवारी दुर्घटनामा झापाको कन्काई नगरपालिकाका एक जनाको मृत्यु भएको छ । आईतवार राती पौने ११ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा ३७ प ८७५९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक झापाको कन्काई नगरपालिका ३ का ४४ बर्षीय पेशल के.सी. लाई उपचारका लागि धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय प्रदेश नं १ ले जनाएको छ । दुर्घटनामा ट्रकमा सवार ईटहरीका यम.पी. रुस्तम र मित्रलाल न्यौपाने घाईते भएका छन् । उनीहरुको बिराटनर्सिङ होममा उपचार भईरहेको छ । ट्रक चालक फरार भएकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।