दमक/  झापाको कमलमा नेकपा एमालेले आउँदो फागुन ७ गतेदेखि अन्तर वडास्तरीय प्रथम कमल एमाले कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

एमाले केन्द्रीय कमिटीको निर्णय अनुसार देशैभर शुरु भएको जरा अभियान अन्तर्गत एमाले कमलको नेतृत्वले युवा पक्तिंलाई चलायमान बनाउन पार्टीका संगठित सदस्य खेलाडीहरुको सहभागितामा सो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
एमाले कमल गाउँ कमिटीको आयोजनामा केर्खास्थित खेल मैदानमा हुने प्रतियोगिताको बारेमा सोमबार कमल ५ मा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

एमाले स्थायी कमिटी सदस्य समेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उदघाटन गर्ने सो प्रतियोगितामा कमल गाउँपालिका भित्रका ७ वटै वडा कमिटी अन्तर्गतका ७ टिमले भाग लिनेछन् । फिफाको नियमानुसार खेलाइने प्रतियोगिता फागुन १० गते सम्म चल्नेछ । प्रतियोगिताको विजेता टिमले नगद २५ हजार र उपविजेताले नगद १५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाण पत्र हात पार्ने एमाले कमल गाउँ कमिटी अध्यक्ष हरी ढकालले जानकारी दिए । उनका अनुसार खेलाडीहरु अनिवार्य रुपमा एमालेको पार्टी सदस्य भएको हुनुपर्नेछ । प्रतियोगिता अवधिभर अन्य ६ वटा बिधामा खेलाडीहरुलाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिनेछ ।
प्रतियोगिताका बिषयमा जानकारी दिन आयोजित सो पत्रकार सम्मेलनमा पार्टी केन्द्रिय सदस्य दिपक कार्कीले जरा अभियान अन्तर्गत पालिका कमिटीहरुले सञ्चालन गर्ने कार्यक्रमहरु तय गर्ने क्रममा अन्य पालिकाहरु रहेको अवस्थामा कमल गाउँ पालिका कमिटी कार्यक्रम घोषणा गर्ने पहिलो भएको बताए । उनले प्रतियोगिता सम्पन्न गर्न नेतृत्वका हिसाबले सबैरुपमा सहयोग गरेर अघि बढ्ने घोषणा गरे । पुरस्कार राशीहरु लगायत आर्थिक व्यवस्थापनमा पार्टी नेतृत्वका हिसाबले आफूले पनि सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।
पत्रकार सम्मेलनमा पार्टी केन्द्रिय सदस्य मेनुका काफ्ले, गाउँ पार्टी इञ्चार्ज वेनु शिवाकोटी, कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लगायत सहभागी थिए ।

 

Facebook Comments Box