दमक/ दमक उद्योग बाणिज्य संघ दमकले आयोजना गरेको क्यान्सर जाँच सम्बन्धिको स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ ।
संघको कार्यालय भवनमा सञ्चालित निशुल्क स्वास्थ्य शिबिरमा १ सय ६४ जनाले सेवा लिएका संघका अध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए ।
बाणिज्य संघले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजना गरेको शिबिरमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सर परिक्षण सम्बन्धिको सेवा १ सय १२ जनाले लिएका छन भने नाक, कान, घाँटी सम्बन्धिको परिक्षणमा ५२ जनाले सेवा लिएका छन् ।
पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडसँगको सहकार्यमा सञ्चालित शिविरमा परिक्षण गरिएका महिलाहरु मध्ये पाँच जनामा थप परिक्षण तथा परामर्श सेवा दिनु पर्ने अवस्था देखिएको छ ।
महिलाहरुको पाठेघर र स्तनमा हुने क्यान्सर तथा महिला पुरुष दुवैमा हुन सक्ने नाक, कान, घाँटी तथा मुखको क्यान्सरका बिषयमा आवश्यक स्वास्थ्य चेतना जगाउने समेत उद्धेश्य राखेर आयोजना गरिएको शिविर शुरु हुनु अघि संघको कार्यालयमा विशेषज्ञ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी टोली र सहभागीहरुबीच अन्तरक्रिया समेत गरिएको थियो ।
ब्यापार ब्यवसायमै ब्यस्त रहने ब्यवसायीहरुलाई लक्षित गर्दै साप्ताहिक बजार बन्दको दिन पारेर यस किसिमको शिविर सञ्चालन गरिएको संघका तृतीय उपाध्यक्ष रुवल अधिकारीले बताए ।
आज परिक्षण गरिएको ब्यवासायीहरुमा देखिएको समस्याको थप परिक्षणमा लाग्ने शुल्कमा पचास प्रतिशत र अन्य उपचार सेवामा २० प्रतिशत भन्दा माथि छुट दिने समझदारी भएको पुर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका क्यान्सर उपचार सम्बन्धिका डाक्टर आलोक ठाकुरले बताए ।

निशुल्क स्वास्थ्य शिबिरमा दमक क्षेत्रका ब्यवसायीहरुको उल्लेखिय सहभागिता थियो ।
जटिल प्रकारका समस्या नदेखिईकन अस्पताल नजाने परम्परा जस्तै बसेकाले यसलाई तोड्न पनि यस किसिमका शिविरहरुले सकारात्मक सहयोग पुरयाउने विश्वास लिइएको दमक उद्योग वाणिज्य संघका कार्यालय प्रमुख निरज विष्ट बताउँछन् ।
पुर्वाञ्चल क्यान्सर अस्पतालका बिषेशज्ञ डाक्टरहरु डा. आलोक, डा. कुशेस्वर शाह र डा. शर्मिला नेपाली लगायतको टोलीले शिविरमा आएका सर्वसाधारणलाई क्यान्सर उपचार सम्बन्धिको परामर्श सँगै स्वास्थ्य परिक्षण सेवा प्रदान गरेका थिए ।
स्वास्थ्य परिक्षणमा सहभागी व्यवसायीहरु थप उपचारको लागि पुर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा एक महिना सम्म ओपिडी शुल्क नलाग्ने र अन्य बिभिन्न जाँचहरुमा बीस प्रतिशत देखी पचास प्रतिसत सम्म छुट उपलब्ध गराईने शिविर शुरु हुनु अघि आयोजित संक्षिप्त कार्यक्रममा जानकारी दिइएको छ ।