दमक/ झापाको दमकमा प्रदेशस्तरीय अपाङगता पुर्नस्थापना केन्द्र स्थापनाका लागि प्रकृया अघि बढाइएको छ ।
आगामी २ बर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो भवनको लागत करीब ११ करोड रुपैयाँ पुग्ने विस्तृत अध्ययन प्रतिवेदन ( डीपीआर) तयार भएको जनाइएको छ । दमक अपाङग सहयोग समितिले दमक ४ मा प्रदेश सरकारको नीति कार्यक्रम अनुसारनै पुर्नस्थापना केन्द्रको भवन निर्माणका लागि दमक ४ ताराबारी नजिकै आवश्यक पहल अघि बढाइएको जनाएको छ ।
समितिले आज आयोजना गरेको पत्रकार भेटघाटमा समितिका अध्यक्ष खगेन्द्र भट्टराईले सोका लागि हाल सम्म दाताहरुको सहयोगमा १० कठ्ठा जग्गाको बन्दोबस्ती मिलाइएको र घेराबाराको काम समेत अघि बढाईएको जानकारी दिनु भयो ।
केन्द्रका लागि आवश्यक भौतिक संरचनाहरु निर्माणमा आवश्यक पर्ने १० कठ्ठा जग्गा मध्ये ६ कठठ सहयोगी दाताहरुले उपलब्ध गराएको र २ कठठ नगरपालिकाले उपलब्ध गराएको बताउँदै अध्यक्ष भट्टराईले बाँकी २ कठठ अपाङगता भएका व्यक्ति तथा तिनका परिवारबाट स्वैच्छिक रुपमा आर्थिक संकलन गरेर बन्दोबस्ती मिलाइएको बताउनु भयो ।
१ नम्बर प्रदेशका सबै पालिकाहरुका अपाङगता भएका बालबालिकाहरुलाई होस्टल छात्रावासको व्यवस्था गरी र विद्यालय जाने उमेर कटिसकेकाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने किसिमका कार्यक्रमहरु सो केन्द्रबाट सञ्चालन गर्ने लक्ष्य रहेको समितिका सचिव मदन बोहोराले बताउनु भयो । उहाँले त्यहाँ अपाङगता भएकाहरुको रिफरेल सेन्टरका रुपमा काम गर्ने गरी योजना बनाइएको बताउनु भयो ।
अपाङगता दिवसमा साँगितिक साँझ
यसैबीच सो परियोजना निर्माण सम्पन्न गर्न दाताहरुबाट सहयोग आवश्यक पर्ने हुँदा परियोजनाका बारेमा आम समुदायलाई जानकारी गराउने प्रचारात्मक शैलीको दमक सांगितिक साँझ आयोजना गरिने पनि पत्रकार सम्मेलनमा जनाइयो । अपाङगता भएकाहरुको साझा संस्था राष्ट्रिय अपाङग महासंघसंगको समेत सहयोग र सहकार्यमा दमक ७ स्थित पञ्चायत स्मारकस्थलमा आगामी ३ डिसेम्बर अर्थात १७ मसिंरमा अन्तराष्ट्रिय अपाङग दिवसको अवसर पारेर सो कार्यक्रम गरिने जनाइएको छ । महासंघका नेता एवम् दोलखा घर भएका दोहोरी गायक अमृत खातीले राष्ट्रियस्तरका कलाकारहरुको उपस्थितीमा हजारौंलाई सहभागी गराएर सो कार्यक्रम गरिने जनाउनु भयो ।
सो कार्यक्रममा चर्चित कलाकारहरु शम्भु राई, मनोज गजुरेल, राजा राजेन्द्र पोखरेल, प्रखर वक्ता रमेश प्रसाइँ लगायतका चर्चित कलाकारहरुले सो कार्यक्रममा आआफ्नो प्रस्तुती दिने आयोजक समितिले जनाएको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय अपाङग महासंघका उपाध्यक्ष रमा ढकाल, दमक नगरपालिकाका समाजकल्याण शाखा प्रमुख डम्बर बराल लगायतले पनि सो परियोजनाको महत्वका बारेमा धारणा राख्नु भएको थियो ।