दमक/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं ६ स्थित साविकको खजुरगाछीमा सरकारको करीब करोड लगानी रहेको अस्पतालको सुविधा सम्पन्न भवनमा उपचार सेवा शुरु हुन सकेको छैन ।

करीब ८ बर्ष अघि निर्माण शुरु भई पटक पटक म्याद थप गरेर ५/६ महिना अघि अस्पतालको ३ तले पक्की भवन निर्माण सम्पन्न भएको थियो । सो भवन स्थानीय सरकारलाई हस्तान्तरण भईसके पनि अस्पतालको सेवा सूचारु हुन नसकेको हो ।
खजुरगाछी बजारबाट करीब १ किलोमिटर टाढा सोही ठाउँका श्याम चौधरीले सार्वजनिक प्रयोजनका लागि उपलब्ध गराएको ७ विगाहा जग्गामा रहेको सो अस्पतालमा डाक्टरको दरबन्दी र एकान्त ठाउँमा रहेका कारण मजबुत सुरक्षा व्यवस्थाको अभावमा अस्पतालको सेवा सूचारु हुन नसकेको अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहेका गौरीगञ्ज ६ का वडाध्यक्ष बद्रीनारायण यादवले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो– अस्पतालको भवन त बनेको छ तर अस्पताल अनुसार एक जना एमबीबीएस डाक्टरसहित अन्य विभागमा पनि पर्याप्त जनशक्ति आवश्यक हुन्छ । डाक्टर भए अन्य उपकरण, फर्निचरका सामान हामी आफैंले बन्दाबस्ती गरेर सेवा दिन सकिन्छ ।
एमबीबीएस डाक्टरको दरबन्दी नभएकै कारण त्यहाँ सरकारको करोडौं लगानी रहेको अस्पताल भवन र सामाग्रीहरु उपयोगबिहिन अवस्थामा रहेको भन्दै स्थानीयहरुले तत्काल अस्पतालको सेवा सूचारु गर्न माग गरेका छन् ।

 

Facebook Comments Box