दमक/  शिवसताक्षी १ धरमपुरमा सञ्चालित धरमपुर बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक बर्षको ६ महिना अवधिको समीक्षा एवं सदस्य शिक्षा कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।
स्थानीयस्तरमा विश्वसनीय ढंगबाट वित्तीय कारोबारसँगै सामाजिक योगदान समेत गर्दै आएको सो संस्थाले संस्थाको बार्षिक नीति कार्यक्रम अनुसार अर्ध बार्षिक गतिबिधिको समीक्षा सहित सदस्य शिक्षा कार्यक्रम गरेको हो ।
संस्थाका अध्यक्ष कुमार संकरको सभापतित्वमा भएको सो कार्यक्रमको सहजीकरण जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक बिनोद ढकालले गरेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष संकरले सहकारी सञ्चालनमा सञ्चालक समितिको भुमिका प्रमुख हुने भएता पनि यसलाई लक्ष्य प्राप्तीमा सफल बनाउन संस्थाका मालिकका रुपमा रहेका सेयर सदस्यहरु र कर्मचारीको भुमिका उत्तिकै हुने भएकाले यस किसिमका समीक्षा र सदस्य शिक्षा कार्यक्रमहरु संचालन गरिएको उल्लेख गरे ।


संस्थाका सचिव नारदमणी रिमालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष चन्द्रकुमार खड्काले स्वागत मन्तव्य राखेका थिए ।
समीक्षाको क्रममा शेयर सदस्यहरुले एकाध खराब प्रवृत्तिका सेयर सदस्यहरुका कारण सबै सदस्यहरु तथा सिंगो संस्थालाई नोक्सान पुग्न नहुने भन्दै सञ्चालक समिति र कर्मचारीहरुर्ला ऋण असुलीमा सक्रिय भुमिका निर्वाह गर्न सुझाव दिएका छन् । ८ करोडको वासलात रहेको सो संस्थामा ९५ लाख रुपैयाँ शेयर पुँजी रहनुका साथै साढे ५ करोड बचत र ७ करोड कर्जा लगानी रहेको कार्यक्रममा जानकारी दिइयो ।
सो अवसरमा शिवसताक्षी ११ स्थित सताक्षी महिला मौरी पालन सहकारी संस्थाको मौरीपालन व्यवसायलाई प्रोत्साहन गर्न धरमपुर साकोसले शेयर सदस्यहरुलाई आधा केजीका दरले मह बितरण गरेको थियो ।

 

Facebook Comments Box