दमक / दमक नगरपालिका वडा नम्बर ७ मा पूर्ण खोप सुनिश्चितताका लागि नियमित खोप सुदृढीकरण, पूर्ण खोपको दिगोपना र सरसफाई प्रवद्र्धन बिषयमा वडास्तरीय समिक्षा बैठक सम्पन्न भएको छ ।
शुक्रबार वडास्तरीय खोप समन्वय समितिका संयोजक समेत रहेका वडाध्यक्ष भिमप्रसाद पौडेलको अध्यक्षतामा भएको समिक्षा बैठकले यही चैत्र १५ गते सम्म वडाका सबै टोलमा खोपको अवस्था यकिन गर्दै नियमित खोपमा सबै बालबालिकाको सहभागिता सुनिश्चित गर्न घरधुरी सर्वेक्षण गर्ने निर्णय गरेको छ ।
वडास्थित सबै जनप्रतिनिधिहरु, स्वास्थ्य कर्मचारीसहितको टोलीले वडा भित्र क्रियाशील २७ वटै टोलमा खटिएर खोपको अवस्था यकिन गर्ने, अभिभावकहरुमा बालबालिकालाई लगाउने पर्ने भनि सरकारले तोकेका सबै खोपको आवश्यकता र महत्वका बारेमा जानकारी सचेतना जगाउने योजना पनि बनाइएको वडा सचिव योगेश भट्टराईले जानकारी दिए ।

दमक ७ स्थित आधाभूत स्वास्थ्य केन्द्रका प्रमुख नगेन्द्र भटट्राईले बैठकमा सहजीकरण गर्दै अझै एक प्रतिशत बालबालिकाले कुनै पनि प्रकारको खोप नलगाउने गरेको नेपालको तथ्याङले देखाएको र २१ प्रतिशतले खोप लगाउन शुरु गरे पनि पूर्ण रुपमा सबै खोप नलगाई बीचैमा छोड्ने गरेको तथ्याङक प्रस्तुत गरे । उनले वडास्तरीय खोप समन्वय समितिको भुमिका र काम कर्तव्यका बिषयमा पनि आवश्यक सहजीकरण गरेका थिए ।
सो कार्यक्रममा वडाध्यक्ष पौडेलले वडास्तरमा पूर्ण खोप सुनिश्चितता पछि मात्रै सिंगो नगरपालिका पूर्ण खोप घोषणा हुने भएकाले सबै क्षेत्रको सक्रिय भुमिका हुनुपर्ने बताए । कार्यवहाक नगर प्रमुख समेत रहेका वडाध्यक्ष पौडेलले जन्मदर्ता वा बिद्यालय भर्नामा समेत खोप कार्ड अनिवार्य गरिएको अवस्थामा यसको प्रभावकारी कार्यान्वयन हुन सक्ने उल्लेख गरे ।
समिक्षा बैठकमा वडा सदस्यहरु इन्दु खड्का, मान बहादुर खवास, तारा रणपहेंली, नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य कर्मचारीहरु भिमा भट्टराई, लोचन निरौलासहित वडास्थित विभिन्न बिद्यालयका प्रतिनिधिहरु, स्थानीय सरोकारवालाहरु लगायत सहभागी थिए ।