दमक/ झापाको दमक नगरपालिकाबाट गएको जनप्रतिनिधिहरुसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग काठमाडौं पुगेर नगरका विभिन्न महत्वपूर्ण योजनाहरुलाई प्राथमिकता दिन ध्यानाकर्षण गराएको छ ।
नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई , प्रसाइँसहित विभिन्न दलका दमकस्थित प्रतिनिधि एवं सरोकारवालाहरुको टोलीले प्रधानमन्त्री ओलीसहित उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंह, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल , संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे लगायत सरकारका उच्च अधिकारीहरुसँग भेटेर महत्वपूर्ण र दिर्घकालिन महत्वका योजनाहरु अघि सारेको हो ।
टोलीले प्रधानमन्त्री ओलीसहित सम्बन्धित मन्त्रीहरुसँग दमक अस्पतालको स्तरोन्नती गर्दै ३०० शैयाको अस्पताल बनाउने योजना, पशुहाटदेखि रवि चिसापानी सडक निर्माणको योजना, दमक बहुमुखी क्याम्पस, हि.मा.बि, ढुकुरपानी मा. वि को अधुरो भवन निर्माणलाई पूर्णता दिन, दमक २ मा निर्माणाधिन दमक वन वाटिका सौन्दर्यकरणको योजना, दमक सभाहलको व्यवस्थापन, रतुवा मावा नदी तटबन्धन लगायतका महत्वपूर्ण दीर्घकालिन महत्व राख्ने योजनाहरुलाई सरकारको आगामी बजेट तथा कार्यक्रममा सहभागिताका लागि ध्यानाकर्षण गराएको दमक नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँले जानकारी दिइन् ।
प्रधानमन्त्री ओली स्वयं यस क्षेत्रको आवश्यकता र योजनाहरुको बारेमा जानकार भएकाले प्राथमिकताका आधारमा आगामी दिनमा योजना तथा कार्यक्रमहरु तय गरिने संकेत गरेका उपप्रमुख भट्टराईले बताइन् ।
टोलीमा नगर प्रमुख उपप्रमुखसहित सो भेटघाटमा राष्ट्रिय योजना आयोग सदस्य समेत रहेकी पूर्व दमक नगर उपप्रमुख गीता अधिकारीसहित नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहेका सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराई, नेकपा माओवादी केन्द्रका नेता गगन पुरी लगायत पनि सहभागी थिए ।