दमक/ पदम लिङदेन (संकल्प) झापाको दमक र आसपास सहकारीको क्षेत्रमा परिचित नाम हो । दमकमा अलग पहिचान बनाएर वित्तीय संस्थाहरुमाझ परिचित सहकारी संस्थाका रुपमा रहेको राष्ट्रिय विभूती समाजसुधारक महागुरु फाल्गुनन्दको स्मरण गर्दै खोलिएको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा रहेर लिङदेनले यो संस्थालाई अघि बढाइरहनु भएको छ ।
स्थापना कालदेखिनै निरन्तर महत्वपूर्ण जिम्मेवारीहरु सम्हाल्दै आउनु भएका लिङदेनले यो संस्थामा एक कुशल , सक्षम र सफल नेतृत्वको पहिचान बनाई सक्नु भएको छ ।
अनुशासित र सक्रिउ सहकारी अभियान्ताको रुपमा चिनिनु भएका लिङदेन विभिन्न कारणले पछिल्लो समय देशमा आर्थिक मन्दिको प्रभाव बढ्दै जाँदा प्रभावित भएका क्षेत्रहरु मध्ये सहकारी क्षेत्र प्रमुख भएको बताउनु हुन्छ ।
सहकारी अभियान एउटा विशुद्ध सामाजिक अभियान भएकाले यसमा राजनीतिक भागवण्डा र राजनीतिक दाउपेचले नकारात्मक असर पार्ने उहाँको ठम्याई छ ।
झापा जिल्लामा सहकारी संस्थाहरुको अवस्था , सहकारी अभियानमा परेको असर र यसको समाधानका लागि परिणाममुखी कार्ययोजना आवश्यक रहेको उहाँको भनाई छ ।
सहकारी संघमार्फत यसका नेतृत्वकर्ताहरुलेनै आफ्नै संस्थामा गरेको कर्जा लगानी उठ्न नसक्दा संघका सदस्य संस्थाहरु मारमा परेको उहाँको भनाई छ । हाल जिल्ला सहकारी संघको निर्वाचनमा राजनीतिक भागवण्डाका आधारमा केही गलत तत्वहरु हावि हुन खोजिरहेको तर्कसहित उनले सहकारी क्षेत्रको सुधार र अनुशासनको पालनाका लागि आफू पनि उम्मेदवारका रुपमा अघि सरेको बताउनु भयो ।
लगभग १४ बर्षदेखि सहकारीमा निरन्तर क्रियाशील रहँदै फाल्गुनन्द साकोसमा तेस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी सम्हालिरहनु भएका लिङदेन आगामी बैशाख १३ गते हुने निर्वाचनमा झापा क्षेत्र नं ५ को भुगोलबाट क्षेत्रीय संयोजकमा उम्मेदवारी दिएर आफ्ना शुभचिन्तकहरुमाझ भेटघाट र छलफलमा हुनुहुन्छ ।
सरल स्वभाव र सामुहिकताको भावना राख्ने लिङदेनले आफ्नो उम्मेदवारी सहकारी अभियान भित्रै सुधार गरेर समुदायमा सहकारीको पहुँच विस्तारका लागि भएको बताउनु भएको छ ।
संघको आगामी निर्वाचन १३ बैशाखमा विर्तामोडमा हुँदैछ । संघमा आवघ सबै प्रकारका सहकारी संस्थाहरु यो संघको सदस्यका रुपमा रहेका छन् । जिल्ला सहकारी संघको अध्यक्षसहित अधिकांश पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । जस अनुसार अध्यक्षमा प्रेम कोईराला (दमक) बरिष्ठ उपाध्यक्षमा दुर्गा सापकोटा (मेचीनगर) महिला उपाध्यक्षमा देबिका बस्नेत (बिर्तामोड) र कोषाध्यक्षमा केशब बस्नेत (बिर्तामोड) रहेका छन् । त्यस्तै महिला सदस्यमा बिन्दा थापा (कन्काइ) निला कुमारी दाहाल (अर्जुनधारा) संगिता गजुरेल ( धुलाबारी) पुष्पा अधिकारी चम्लागाई (चारआली) क्षेत्र तर्फ १ बाट देबीमाया अधिकारी, ३ बाट हरिकृष्ण अधिकारी र ४ बाट तिलक प्रसाद राजबंशी निर्विरोध निर्वाचित भइसकेका छन् ।