दमक/ झापाको दमक नगरमा बसोबास गर्ने विभिन्न जातजाती र भाषाभाषीहरुलाई राजनीतिक आग्रह पूर्वाग्रह नराखी एकताबद्ध भएर जातीय पहिचान, भाषा लिपी र संस्कार , संस्कृति संरक्षणमा जुट्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
आज नेपाल आदिवासी जनजाती महासंघ दमक नगर समितिले हालै सञ्चालन गरेको साँस्कृतिक महोत्सवको प्रगति प्रतिवेदन तथा आय व्यय सार्वजनिक सार्वजनिक गर्न आयोजित कार्यक्रममा दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले यहाँका आदिवासी जनजातीहरुले साझा रुपमा एकताबद्ध भएर उचित मागहरु अघि सारेको अवस्थामा स्थानीय सरकार सम्बोधन गर्न तयार रहेको उल्लेख गरे ।
वडाध्यक्ष पौडेलले साँस्कृतिक महोत्सवका विबिध पक्षहरुलाई सकारात्मक रुपमा सुधार गर्दे आगामी दिनमा अझ परिणाममुखी बनाएर सञ्चालन गर्न खोजिए त्यसमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए ।
उनले दमक नगरपालिकाबाट यसअघि धिमाल भाषा र लिम्बु भाषाको पठनपाठनको अभ्यास शुरु गरिसकेको जनाउँदै बर्षेनी एक/एक जातीको भाषा विशेष कक्षा सञ्चालन गर्न सकिने धारणा राखे । उनले वडा नम्बर ७ ले लिम्बु भाषाको कक्षा सञ्चालन गरिरहेको बताउँदै सबै भाषा, संस्कृतिको संरक्षणमा आफ्नो सक्रिय भुमिका रहने उल्लेख गरे ।


महोत्सवको बारेमा आदिवासी जनजाती महासंघ दमक नगरका पूर्व अध्यक्ष मोहन धिमालले विशेष प्रतिवेदन प्रस्तुत गर्दै धिमालले दमक ८ मा रहेको आदिवासी जनजातीहरुको संग्राहालय निर्माणको मुल उद्धेश्य राखेर १५ दिन सम्म सञ्चालन गरिएको महोत्सव आदिवासी जनजातीहरुको पहिचान झल्काउने र स्थानीय पर्यटन प्रवद्र्धन तथा कला संस्कृति संरक्षणमा महत्वपूर्ण अवसर बनेको उल्लेख गरे । उनले महोत्सवबाट ३ लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएको फेहरिस्त सार्वजनिक गरे । महोत्सवमा महासंघमा आवद्ध विभिन्न विभिन्न १२ वटा जातीय संस्थाहरुको सहभागिता रहेको उल्लेख गरिएको छ ।
महासंघका नगर अध्यक्ष अमरबहादुर कुमालको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा महोत्सव सञ्चालनका क्रममा संकलित रकमबाट स्थानीय बराह टोल, सयपत्री टोल र राधा माधव टोल बिकास संस्थालाई १०÷१० थानका दरले कूल ३० थान प्लाष्टिकका कुर्सी हस्तान्तरण गरिएको थियो । सोही अवसरमा महोत्सवमा सहभागी जातीय संस्थाहरु मध्ये उत्कृष्ट सजावट गर्ने तथा मौलिकता झल्काउने राजवंशी सेवा समाज , माझी उत्थान संघ , कुमाल सेवा समाज र नेवा देय दबुलाई नगद क्रमश १०, ८, ६ र ४ हजारका दरले नगद प्रोत्साहन पुरस्कार समेत प्रदान गरिएको थियो ।

Facebook Comments Box