दमक/ पछिल्लो समय बढ्दो जंगली हात्तीको समस्या समाधानमा हात्ती–मानव सहअस्तित्वमा जोड दिइएको छ । दमकको सबै भन्दा धेरै हात्ती प्रभावित क्षेत्र दमक वडा नम्बर ३ मा स्थानिय स्वावलम्बी समाजको अयोजनामा हिँजोबाट सुरु भएको दुई दिवसीय कार्यक्रमका सहभागीहरुले मानव हात्ती द्वन्द न्युनिकरणका लागि हात्तीको समेत अस्तित्व मानवले स्विकार गर्नु पर्ने बताएका हुन ।
दमक वडा नम्बर ३ स्थित साधुस्तान मन्दिरमा आयोजित “समुदायमा आधारित मानव–हात्ती सहअस्तित्वको प्रयास“ नामक सो कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम थापाले दमक क्षेत्रमा पटक पटक जंगली हात्तिका कारण क्षति हुने गरेको समस्यालाई समाधानका लागि स्थानीय सरकार माथिल्लो निकायहरुसँग समन्वय र परामर्श गरेर अघि बढिरहेको उल्लेख गरे । मानव हात्ती द्वन्दका कारण मान्छेको पनि र हात्तीको पनि ज्यान जाने गरेकोले हात्तीको अस्तित्व स्विकार गर्दै अघि बढ्नु पर्ने देखिएको बताए । हात्तीलाई धपाउने, खेदाउने गर्दा समस्या समाधान नहुने रहेछ भन्ने देखिएकाले अब उसको अस्तित्वलाई स्विकार गरि हात्तीका लागि जंगलमा फलफुलका बिरुवाहरु लगाउने लगायतका काम गर्नु पर्ने बताए ।
सो अवसरमा दमक नगर उपप्रमुख रेगिना भट्टराईले हात्ती समेत मानव अस्तित्वका लागि आवश्यक जिव भएको भन्दै उसलाई आहाराको व्यवस्था वन जंगलमै गर्न सके हात्ती गाउँ पस्ने समस्याको समाधान हुन सक्ने सुझाइन् । उनले यस्ता कार्यक्रमले समुदायमा चेतना अभिवृद्धी गर्नुका साथै दीर्घकालीन समाधानको बाटो खोल्ने विश्वास लिएको बताइन् ।
दमक नगरपालिकाको सहयोगमा सञ्चालित सो कार्यक्रम दमक वडा नम्बर ३ का वडाध्यक्ष नविन बरालको अध्यक्षतामा भएको थियो । सो अवसरमा नगरपालिकाका पुर्वाधार शाखा प्रमुख अनन्त सेनेहाङले विपद ब्यवस्थानका बिषयमा सहजिकरण गरेका थिए ।
आयोजक संस्था स्वावलम्बि समाजका अध्यक्ष सुर्य गौतमले कार्यक्रमको औचित्यबारे प्रस्ट पार्दै दमकको जंगल आसपासका क्षेत्रमा बसोबास गर्नेहरु जति खेर पनि हात्तीको त्रासमा बस्नु पर्ने अवस्था रहेको बताए । उनले अब दिर्घकालीन योजना बनाएर कार्य नगरे मानव हात्ती द्वन्दका कारण ठुलै क्षति हुन सक्ने तर्फ सबैलाई सचेत बनाउन पनि कार्यक्रम आयोजना गरिएको बताए ।