उर्लाबारी / धिमाल समुदायको प्रमुख सांस्कृतिक पर्व ‘सिरिजात’ (जातिरी) को समापन कार्यक्रम सोमबार मोरङको उर्लाबारीमा सम्पन्न भएको छ। धिमाल जातीय विकास केन्द्रको केन्द्रीय कार्यालय द्वारा आयोजित समापन समारोहको उद्घाटन संघीय सांसद डिगबहादुर लिम्बूले गरेका थिए।
उद्घाटन मन्तव्यमा उनले भने, “धिमाल को हुन् भन्ने परिचय स्थापित गर्नु आजको आवश्यकता हो।” उनले मोरङको लेटाङस्थित राजारानी क्षेत्रको सहयोगको चर्चा गर्दै त्यही क्षेत्रमा धिमाल संस्कृति झल्किने संग्रहालय निर्माणका लागि आगामी वर्ष २०८३/८४ मा आवश्यक कागजी प्रक्रिया पूरा गरेर काम सुरु गरिने प्रतिबद्धता जनाए।
राजनीतिक स्थायित्वका लागि गरिएको एकता अपेक्षाकृत मार्गमा नबढेको उल्लेख गर्दै संसद लिम्बूले मिश्रित निर्वाचन प्रणालीको आवश्यकता औंल्याए। “विदेशबाट फर्किएका युवासँग सहकार्य गर्न चाहन्छु,” उनले भने, “गाली मात्र होइन, सामाजिक सञ्जालमार्फत सुझाव दिन युवाहरू सक्रिय हुनुपर्छ।”
कार्यक्रमका सभापति अमरबहादुर धिमाल थिए भने सञ्चालन केन्द्रका महासचिव मात्रिका धिमालले गरेका थिए।
विशिष्ट अतिथि संविधानसभा सदस्य नगेन्द्र धिमालले पहिचानसहितको संघीयता बनाउनुपर्ने जनाउदै लेटाङको ऐतिहासिक धिमाल दरबारमा धिमाल प्रतिमा राख्न आह्वान गरे।
कार्यक्रममा प्रदेशसभा सदस्य नम्बर लाल धिमालले शुभकामना मन्तव्यसहित संग्रहालयको उद्घाटन गरे।
संस्थाका राष्ट्रिय सभा सभापति लोकबहादुर धिमाल, संविधानसभा सदस्य उषा गुरुङ, उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेल लगायत विशिष्ट व्यक्तिहरू कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा धिमाल समुदायकी पहिलो चिकित्सक डा. सुजना धिमाललाई युवा प्रतिभा पुरस्कारद्वारा सम्मान गरिएको थियो।
समापन समारोहमा १०७ टोलको सहभागितामा ढोल प्रतियोगिता, एकल गीत, सांगीतिक प्रस्तुतिहरू लगायत सांस्कृतिक नृत्य प्रदर्शन गरिएको थियो।