दमक/झापाको दमकमा बुधबार खाद्य गुणस्तर निगरानी तथा खाद्य सुरक्षा सम्बन्धिको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
दमक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा दमकमा रहेका होटल तथा खाजा घरका सञ्चालक, ठेला व्यवसायी, चटपटे , पानी पुरी लगायतका व्यापारमा संलग्न करिब ५० जना भन्दा बढी व्यवसायीहरु सहभागी भएका छन् । अभिमुखीकरण कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले व्यवसाय सञ्चालनको क्रममा उपभोक्ताको स्वास्थ्य हितलाई समेत ध्यान दिन, नगरलाई फोहोरमुक्त, स्वच्छ र हराभरा बनाउन साना व्यवसायीहरुले समेत साथ दिनुपर्ने बताउनु भयो । उहाँले स्थानीय सरकार आम नगरबासीहरुसँगै हातेमालो गरेर अघि बढिरहेको पनि उल्लेख गर्नु भयो । कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँले व्यवसायीहरु स्वयं उपभोक्ता समेत रहेको तथ्यलाई आत्मसाथ गरेर स्वस्थ र सफा खानेकुराको मात्रै विक्री वितरण गर्न व्यवसायीहरुसँग आग्रह गर्नु भयो । उहाँले पैसा कमाउने ध्याउन्नमा नागरिकहरुको स्वास्थ्य अवस्था दिनदिनै खतरामा परिरहेको प्रति सचेत हुन आग्रह गर्नु भयो । उहाँले स्वास्थ्यमा हानी नोक्सानी पुगेको खण्डमा जतिनै धेरै पैसा कमाए पनि त्यसको अर्थ नरहने भन्दै उहाँले स्वास्थ खानेकुरा खाने र खुवाउने लक्ष्य राखेर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नु भयो ।
नगरपालिकाकी सामाजिक बिकास संयोजक शारदा सापकोटाले सरसफाईमा ध्यान दिए मात्रै व्यवसायमा उपभोक्ताहरुको आकर्षण बढ्ने कुरालाई मनन गरेर व्यवसाय सञ्चालन गर्न र अखाद्य बस्तुको कारोबार नगर्न आग्रह गर्नु भयो ।
दमक नगर स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताको सभापतित्वमा भएको कार्यक्रममा होटल व्यवसायी संघ दमकका महासचिव भुपेन्द्र न्यौपानेले यस किसिमको कार्यक्रमको आवश्यकता खडकिरहेको अवस्थामा कार्यक्रम ल्याएको भन्दै दमक नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्नु भयो ।