दमक/ दमक नगरपालिकाको १७ औँ नगरसभा आज बुधबार बसेको छ ।
नगर प्रमुख रामकुमार थापा अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक रेगिना भट्टराई प्रसाईले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक सहित कुल १ अर्ब ४७ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत बजेटमा चालु र पुँजीगत खर्चको प्रतिशत हाराहारी रहेको छ । चालू खर्च ७१ करोड २९ लाख ५० हजार अर्थात ४८.५५ प्रतिशत प्रक्षेपण गरिएको छ भने पुँजीगत खर्च ७४ करोड ५० लाख ५० हजार अर्थात ५०.६५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।
दमक अस्पतालका लागि विशेष विनियोजनका रुपमा ३९ करोड रुपैयाँ विनियोजना गरिएको छ ।
बजेटमा नगरपालिकाको आन्तरिक आम्दानी ३४ करोड ९१ लाख ५४ हजार रुपैयाँ हुने अनुमान गरिएको छ भने संघीय सरकारको अनुदान ७२ करोड ८४ लाख रुपैयाँ रहेको छ । प्रदेश सरकारको अनुदान ३ करोड ९३ लाख ८६ हजार रुपैयाँ र राजस्व बाँडफाँडबाट २९ करोड ३० लाख ५९ हजार रुपैयाँ राजश्व उठ्ने अनुमान गरिएको छ । त्यस्तै विभिन्न जनसहभागितामुलक योजनाहरुमा जनसहभागिता वापत १ करोड रुपैयाँ र दमक अस्पतालको बीमा दावी बाटः ३९ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ ।
बजेटले सामाजिक समावेशीता, पूर्वाधार विकास, गुणस्तरीय सेवा प्रवाह, डिजिटल नगर निर्माण, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन, युवा तथा महिला सशक्तिकरण, खेलकुद लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएको नगरपालिकाकी उपप्रमुख भट्टराईले उल्लेख गर्नुभयो ।
नगर प्रमुख थापाले बजेटले दमकलाई समावेशी, समृद्ध र प्रविधिमैत्री नगरको दिशामा लैजाने विश्वास व्यक्त गर्नुभएको छ ।