दमक/ झापाको कमल गाउँपालिका ७ लखनपुरमा सञ्चालित प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा कोशी प्रदेशमै पहिलो पटक बालबालिकाहरुलाई स्वर्ण विन्दु प्रासनको कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वर्ण विन्दु प्रासनले बालबालिकाहरुमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत पुरयाउँछ ।
अस्पतालले आयुर्वेद चिकित्सा सेवालाई विस्तार गर्ने सिलसिलामा पहिलो पटक यही असार १३ गते ६ महिनादेखि ७ बर्ष उमेर समुहका बालबालिकालाई स्वर्ण भस्म (सुनपानी,मह, घिउ आदीको सम्मिश्रण) को पहिलो डोज खुवाउन लागेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्ड डा. सिद्धार्थ ठाकुरका अनुसार बालबालिकामा रोग प्रतिरधात्मक क्षमताको बिकासका लागि स्वर्ण विन्दु महत्वपूर्ण मानिन्छ । यो ३ महिनादेखि माथि १६ बर्ष उमेर समुहका बालबालिकालाई खुवाउनु स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुने भएता पनि आवश्यकतालाई धान्न सक्ने अस्पतालको क्षमतालाई मध्यनजर गरेर यसपटक ६ महिनादेखि ७ बर्ष उमेर समुहका मात्रै बालबालिकालाई लक्षित गरिएको डा. ठाकुरले जानकारी दिनु भयो ।
उहाँका अनुसार यसपटक सो कार्यक्रमबाट झण्डै चार सय बालबालिका लाभान्वित हुने अनुमान गरिएको छ । साधारणतया झाडापखाला लागिरहेका र उच्च ज्वरो आइरहेका बालबालिकालाई उनीहरुलाई निगरानीमा राखेर मात्रै यसको सेवन गराइनेछ ।
यसको सेवनले बालबालिकाको स्वास्थ्यमा छिटो छिटो आउने गरेका स्वास्थ्य सम्बन्धिका समस्याहरुलाई न्यूनिकरण मद्धत पुग्दछ– डा. ठाकुरले अस्पतालमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भन्नु भयो । बालबालिकाहरुमा रुघा खोकी जस्ता समस्याहरु देखिनु बालबच्चामा रोग प्रतिरोधात्मक क्षमता कम हुनुको परिणाम भएकाले प्रतिरोधात्मक क्षमता बढाउन यसले महत्वपूर्ण भुमिका खेल्ने आयुर्वेद चिकित्सकहरुको भनाई छ । पत्रकार सम्मेलनमा अस्पतालका आयुर्वेद चिकित्सक डा. अर्जुन अर्यालले स्वर्ण विन्दु प्रासनको लागि नक्षत्रका आधारमा मिति तय गरिएको बताउनु भयो ।