दमक/ झापाको दमक नगरपालिकामा सञ्चालित दमक नगर अस्पतालमा एकैपटक १० जना स्टाफ नर्सले करार सेवामा रोजगारी पाएका छन् ।
सेवाग्राहीको चाप उल्लेखीय रुपमा बढिरहेको सो अस्पताल दमक नगरपालिका मातहत सञ्चालनमा छ ।
नगरपालिकाले एकसाथ ठुलो संख्यामा करार सेवामा नियुक्तीका लागि स्टाफ नर्स सहायक स्तर (पाँचौ तह)का लागि विज्ञापन खुलाएको थियो ।
गत बैशाख २४ गते प्रकाशित विज्ञापन बमोजिम बुधबार (११ असार)मा परीक्षा लिइएको थियो । लिखित परीक्षामा सहभागी कूल ४६ जना परीक्षार्थी मध्ये २७ जना अन्तरवार्ता परीक्षामा सहभागी थिए ।
सहभागीहरु मध्ये खुलाइएको विज्ञापनका आधारमा १० जना सफल उम्मेदवारको सूचीमा परेका हुन् ।
दमक नगरपालिकाद्धारा आज प्रकाशित सूचना अनुसार सफल भएका १० उम्मेदवारको सूचीमा पोखराकी मनिता रानाभाटसहित अन्य ९ जना कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका छन् । प्रकाशित सूचना बमोजिम सफल उम्मेदवारको सूचीमा दमक १० की अनुजा खड्का, दमक १ की समृद्धी राई, फाल्गुनन्द ५ पाँचथरकी नम्रता साँवा, दमक ८ की नितु भण्डारी, दमक ५ की दीक्षा गुरुङ, दमक ४ की आयुस्मा कोइराला, बाँझो ८ इलामकी बिमला योङहाङ, दमक ५ की अस्मिता राई र मिक्लाजुङ ६ पाँचथरकी विनुसा राई परेका छन् । उनीहरुलाई सात दिन भित्र कार्यालयमा सम्पर्क गर्न सुचित गरिएको छ ।