दमक/ भारतीय सीमासंग झापाको गौरीगञ्जस्थित कोरोबारी नाकामा आज नेपालका लागि नेपाली अभियानका युवाहरुले ठाउँ ठाउँमा भईरहेको भारतीय अतिक्रमणको विरोधमा प्रदर्शन गर्नुका साथै सीमा स्तम्भ ( जंगे पिल्लर) मा नेपालको झण्डा फहराएका छन् ।

दमक, विर्तामोड लगायतका ठाउँहरुबाट अभियानका अगुवाईकर्ताहरु योगेन्द्र खनाल, छवि बाँस्कोटा , मेघनाथ फुयाँल लगायत ५० जनाको टोलीले मध्यान्ह १२ बजेतिर त्यहाँ पुगेर नेपालको झण्डा गाडेका हुन् ।

अभियानमा सक्रिय फुयाँलले पश्चीम नेपालका कालापानी, लिपुलेक लगायत देशका पूर्वीै भागहरुमा समेत भारतीय पक्षले गरेको अतिक्रमण र सरकारको अकर्मण्यताको विरोधमा नाराबाजी गर्दै सो समुहले सीमा स्तम्भमा नेपालको झण्डा गाडेको बताउनु भयो ।
अभियानको टोली बस चढेर त्यस तर्फ गएपनि सीमामा पुग्न नसक्ने भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा त्यहाँ पुगेको फुयाँलले जानकारी दिनु भयो ।