दमक/  दमक नगरपालिकाको आर्थिक सहयोग र दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न, कमल–६, झापाको प्राविधिक साझेदारीमा दमकका महिलाहरूले अग्र्यानिक मच्छडधुप उत्पादन गर्न थालेका छन् ।
नीम, कपुर, तुलसी, धुपी लगायतका प्राकृतिक कच्चा पदार्थको प्रयोगबाट उत्पादन गरिएको धुप पूजा प्रयोजनका साथै मच्छड भगाउन समेत उपयोगी गर्न सकिन्छ । १० दिनको तालिमपछि २० जना महिलाहरूलाई धुप उत्पादन, ब्रान्डिङ र प्याकेजिङमा दक्ष बनाइएको हो ।
तालिमको समापन र बाटेको मच्छड धुपको ब्यवसायीक उत्पादनको उदघाटन गर्दै दमक नगर प्रमुख रामकुमार थापाले वातावरणमैत्री तथा स्थानीय कोशेलीका रुपमा यसलाई उपयोग गर्न सकिने बताउनु भयो ।
नगरको पहिचानका रूपमा देश–विदेश सम्म यसलाई प्रवद्र्धन गर्न सकिने उहाँको भनाई थियो । “अब हरेक घरमा बालिने धुप अग्र्यानिक र स्वदेशी बन्नेछ,“ उहाँले भन्नु भयो । “अब हामी बजारमा विदेशी धुपको भर पर्नु पर्दैन । नगरमै उत्पादित अग्र्यानिक धुप स्वास्थ्यमैत्री, वातावरणमैत्री र रोजगारी सिर्जना गर्ने खालको उत्पादन हो । यसलाई हाम्रो पहिचान पनि बनाउनेछ ।” थापाले भन्नु भयो ।
नगरपालिकाको औपचारिक कार्यक्रम, अतिथि सत्कार र जनस्वास्थ्यको प्रवद्र्धन अभियानमा पनि यो धुपको प्रयोग गर्न सकिने उहाँले बताउनु भयो ।
सो अवसरमा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले यस कार्यलाई सार्वजनिक स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिन सक्ने भन्दै, नगरपालिकाको यस अभियानलाई निरन्तर सहयोग रहने उल्लेख गर्नु भयो ।
प्रादेशिक आर्युवेद अस्पताल लखनपुरका निर्देशक डा. सिद्धार्थ ठाकुरले यस्तो अग्र्यानिक धुप स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई नविनतम प्रयोगको रुपमा प्रशंसा गर्नुभयो । “निम भएको घर वरिपरि रोग फैलाउने कीटाणु नष्ट हुने जनविश्वास रहेको छ,“ उहाँले भन्नु भयो ।
दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्नका अध्यक्ष विष्णुप्रसाद पोखरेलले पहिलोपटक पहाडे कागजमा बनाइएको यस्तो मच्छडधुप पहिलो पटक औपचारिक रूपमा उत्पादनमा ल्याइएको दाबी गर्नुभयो ।
“दमक नगरपालिकाको सहकार्यले यो उदाहरणीय कार्य बनेको छ,“ उहाँले भन्नु भयो । तालिम तालिममा सिमित बनेन यसले दमकमा एउटा नयाँ उत्पादन र ब्राण्ड जन्माएको उहाँको भनाई छ ।
दिब्यदृष्टिकी सञ्चालिका तथा कार्यकारी प्रमुख बविता तिम्सिनाले आफुहरुले महिलाहरुको आत्मनिर्भरताका लागि यस प्रकारको कार्य गर्दै आएको बताउनु भयो । दमक नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले एउटा नयाँ उदाहरणका रुपमा यो तालिम र यसको उत्पादनलाई लिन सकिने बताउनु भयो ।

Facebook Comments Box