काठमाडौं/ नेपाल चिकित्सक संघले आज देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । विरोधस्वरुप देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै संघले कानुन संशोधनमार्फत चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग गर्दै आएको छ ।  दमक अस्पतालका प्रशासन प्रमुख एवं सुचना अधिकारी डा. अनुपम घिमिरेले चिकित्सक संघले केन्द्रदेखिनै घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा दमक अस्पतालमा कार्यरत चिकित्सकहरुले पनि ऐक्यबद्धता र समर्थन जनाएको जानकारी दिनु भयो । उहाँले अस्पतालमा आकस्मिक सेवा प्रवाह भने भइनै रहेको उल्लेख गर्नु भयो ।

संघले आवश्यक परे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी समेत दिएको छ । केही साता यता उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो ।

जसमा उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

Facebook Comments Box