यतिबेला अक्सर घर परिवारका कोही न कोही सदस्य शरीरका विभिन्न भाग जस्तै हात खुट्टाको जोर्नी दुखाईको समस्याबाट पीडित छन् । दमकस्थित दमक अस्पतालमा आउने सबैभन्दा धेरै बिरामीको संख्यानै हाड जोर्नी सम्बन्धीको समस्याका बिरामी छन् ।
दमक अस्पतालका प्रशासन प्रमुख एवं सूचना अधिकारी समेत रहनु भएका जनरल फिजिसियन डा. अनुपम घिमिरेका अनुसार अस्पतालमा आएका मध्ये झण्डै ५० प्रतिशत जोर्नी सम्बन्धीको समस्याबाटनै पीडित भएको देखिन्छ । हरेक दिन ३/४ सयको हाराहारीमा हाडजोर्नी दुखाई सम्बन्धिका बिरामी यो अस्पताल आउने गर्छन ।

हाड जोर्नीको समस्या झेलिरहेका यि बिरामी अस्पतालको पहुँच भएकाहरु मात्रै हुन् । अस्पताल सम्म आउनै नसकेका, यो समस्याबाट घरमै थलिएर बसेका र घरायसी औषधि भन्दै विभिन्न जडिबुटीको भर परेर बसेका, अन्धविश्वास र रुढीवादी प्रथाका कारण धामी झांक्री, देउ देउताको भर परेर बसेका बिरामीहरु पनि छदैंछन् ।

पूर्व क्षेत्रका विभिन्न जिल्लामा जोर्नी सम्बन्धी समस्या जसरी बढीरहेको छ त्यसरीनै यसको उपचार अर्थात समाधानका लागि औषधिको अनुचित प्रयोग पनि उसैगरी बढिरहेको छ । दुखाई बढ्नासाथ यसको पीडालाई कम गर्न चिकित्सकहरुको सल्लाहमा बिनानै जथभावी रुपमा पेनकिलरका रुपमा विभिन्न एलोपेथिक , तथा अन्य जटिबुटी औषधिहरुको प्रयोग गर्नाले मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । जथाभावी रुपमा प्रयोग गरिने औषधिहरूले लाभभन्दा बढी हानि पुरयाउने खतरा बढीरहेको डा. घिमिरेको बुझाई छ ।

सजिलै पाइने स्टेरोइडयुक्त औषधि तथा पेनकिलरहरू जोर्नी दुखाइका लागि सहज उपायका रूपमा प्रयोग हुने गरेपनि अन्तत यि औषधिहरुको सन्तुलन नमिलाई आफू खुशी प्रयोग गर्नाले दीर्घकालीन रोगहरुको जोखिम बढेको छ । यस ढंगबाट औषधिको अनुचित प्रयोगले मानिसहरुको मिर्गौला, कलेजो र मुटुमा गम्भीर असर पुर्याउने विशेषज्ञहरू बताउँछन्।

डा. घिमिरे भन्छन्, “जोर्नीको समस्या समाधानका लागि औषधिको अनुचित प्रयोग खतरनाक बन्दै गएको छ । यसलाई नजिकबाट निगरानी गर्नु अत्यन्त आवश्यक छ ।”
डा. घिमिरेका अनुसार रोगको प्रकृति अनुसार उपयुक्त उपचार नगरी बिरामी आफैंले वा क्लिनिक तथा फार्मेसीहरुबाट औषधि सेवन गर्दा समस्या थप जटिल बन्ने खतरा रहन्छ ।
सरकार तथा यससंग सम्बन्धित निकायहरूले यस विषयमा जनस्तरमा सचेतना फैलाउन आवश्यक रहेको उहाँको सुझाव छ ।

गाउँ तथा शहरका स्थानीय स्वास्थ्य चौकीहरूमा बिरामीको चाप बढ्दै गइरहेकाले आम नागरिकमा औषधिको सही प्रयोगबारे जनचेतना फैलाउन आवश्यक देखिएको हो ।
स्वास्थ्यकर्मीहरूले पनि अनुगमन र सल्लाहमार्फत यस्तो लापरवाही रोक्नुपर्ने आवश्यकता औंल्याएका छन्।

कमल नगर अस्पतालकाका कार्यालय प्रमुख समेत रहेका स्वास्थ्यकर्मी दिपक दाहाल ग्रामिण क्षेत्रमा अझै पनि बिरामीहरु चिकित्सकसँगको सल्लाह बिनानै औषधि माग्न आउने गरेको बताउनु हुन्छ । दवाई दिँदा भइहाल्छ नि , हामी उहिल्यैदेखि दोकानबाट दवाई लगेर खाने गरेका छौं भन्ने बिरामीहरु अझै पनि भेटिनु हुन्छ । हामी उहाँहरुलाई डाक्टरहरुको सल्लाह, ल्याब परिक्षण जस्ता कुराहरुको महत्व र यसो नगरि गरिने उपचारबाट हुने नोक्सानीका बारेमा जानकारी गराएर पठाउने गरेका छौं ।

Facebook Comments Box