दमक/ दमक नगरपालिकामा दमक नगर प्याब्सन र एन. प्याब्सनले संयुक्त रूपमा सरकारसमक्ष आफ्ना मागहरू सम्बोधन गर्न आग्रह गर्दै दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाई र शिक्षा शाखा अधिकृत सोमनाथ गुरागाईलाई ज्ञापनपत्र बुझाएका छन् ।
दमक प्याब्सनका अध्यक्ष नबिन योगी र दमक एन. प्याब्सनका अध्यक्ष सागर श्रेष्ठको अध्यक्षतामा आयोजित संक्षिप्त कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाई, शिक्षा शाखा अधिकृत सोमनाथ गुरागाईलाई ज्ञापन पत्र हस्तान्तरण गरिएको थियो ।
ज्ञापनपत्र प्याब्सन केन्द्रिय सदस्य श्रवण कुमार पोख्रेलले बाचन गर्नुभएको थियो । सो अवसरमा ज्ञापन पत्र बुझ्दै नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले निजी विद्यालयको आवाज सरकारसम्म पुर्याउन सहयोग गर्ने र आवश्यक सहयोग सधैं गर्ने प्रतिबद्धता जनाउनु भयो ।
निजी विद्यालयहरूको असन्तुष्टिको मूल कारण सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयक हो, जसमा विद्यालयलाई क्रमशः गैर–नाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति उपलब्ध गराउने, र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्कदेखि पोसाक, यातायातसम्मको सम्पूर्ण खर्च विद्यालयले व्यहोर्नुपर्ने प्रावधान रहेको छ । यसबारे हिसान, नेशनल प्याब्सन, एन. प्याब्सन र प्याब्सनले यसअघि नै आपत्ति जनाउँदै हालको १० प्रतिशत छात्रवृत्ति व्यवस्था निरन्तरता दिनुपर्ने, ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाउनुपर्ने, र गैरनाफामूलक बनाउने व्यवस्था पूर्ण रूपमा खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।
निजी विद्यालय सञ्चालकहरूले नेपालको शिक्षा क्षेत्रमा करिब ६ खर्ब रुपैयाँ लगानी, ५ लाख रोजगारी र ३४ प्रतिशत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको दाबी गर्दै विधेयकले निजी क्षेत्रलाई निरुत्साहित गर्ने विश्लेषण गर्दै आएका छन् । उनीहरूले माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।् ।

Facebook Comments Box