दमक/ दमक नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा जन्मदर्ता र बिबाह दर्ता गर्न वृक्षारोपणलाई अनिवार्य गरिएको छ ।
वडाबासी कसैले पनि यि दुई किसिमको दर्ता प्रमाण पत्र लिन सम्बन्धित परिवारले दुई वटा फलफूलका विरुवा अनिवार्य रुपमा रोपेको हुनुपर्ने व्यवस्था गरेको हो ।
वडाध्यक्ष भिमप्रसाद पौडेलका अनुसार सोमबार बसेको वडा समितिको बैठकले औपचारिक रुपमा यस सम्बन्धि निर्णय गरेको छ । वातावरण संरक्षण तथा शहरी सौन्दर्यकरणका लागि वडाबासीको योगदान अनिवार्य भएकाले वडाले नीतिगत रुपमा नै यस्तो निर्णय गरेको वडाध्यक्ष पौडेलको भनाई छ ।
घर परिवारमा कसैको जन्म हुनु र बैबाहिक कार्यक्रम गरिनु सुखद अवसर भएकाले सुखद अवसरलाई अहिलेको अवस्थामा वातावरण संरक्षणका लागि योगदान गर्नैपर्ने व्यवस्था गरिएको हो – ७ नम्बर वडा कार्यालयका सचिव योगेश भट्टराईले भन्नु भयो । जुनसुकै प्रजातिका बहुबर्षे फलफूलका विरुवा रोप्नुपर्ने र यसको प्रमाण स्वरुप फोटो पेश गर्नुपर्ने व्यवस्था गरिएको वडाले जनाएको छ ।