दमक/ दमकमा भएको ‘तेस्रो उद्योग वाणिज्य कप २०८२’ को उपाधि निर्माण व्यवसायी संघले हात पारेको छ ।  गत बर्षको दोश्रो उद्योग वाणिज्य कप होटल व्यवसायी संघले जितेको थियो ।
दमक उद्योग बाणिज्य संघले आफ्नो ३५ औँ वार्षिक उत्सव र स्थापना दिवसको अवसरमा आयोजना गरेको अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिताको सो उपाधिसँगै विजेताले नगद ३३ हजार तीन सय ३३, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

त्यस्तै, उपविजेता बनेको मोबाइल व्यवसायी संघले नगद २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
गत बिहीबार र शुक्रबार सञ्चालित सो प्रतियोगिताको अनुशासित टिम फर्निचर तथा फर्निसिङ व्यवसायी संघ घोषित भयो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी निर्माण व्यवसायी संघका लेलेन सुब्बा, उत्कृष्ट गोलकिपर निर्माण व्यवसायीतर्फकै दिपेन थापा, हाई स्कोरर मोबाइल व्यवसायी संघका शरण राई घोषित भए ।
विधागत उत्कृष्ट खेलाडीलाईसमेत नगदसहित पुरस्कृत गरिएको दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य एवम् खेलकुद उप समिति संयोजक तुलसीराम तिम्सिनाले जानकारी दिनु भयो ।

प्रतियोगितामा सहभागी अन्य वस्तुगत संघतर्फ जुत्ता चप्पल व्यवसायी संघ, स्वास्थ्य व्यवसायी संघ, रेडिमेट कपडा व्यवसायी संघ, किराना तथा खाद्यान्न व्यवसायी संघ, होटल व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ र अटोमोबाइल व्यवसायी संघ रहेका थिए ।
समापन समारोहको प्रमुख अतिथि तथा संघका पूर्व अध्यक्ष विजयप्रसाद बराल रहनु भएको थियो ।  उहाँले व्यवसायीहरुबीचको खेलकुदमैत्री वातावरणको प्रशंसा गर्नुभयो ।

संघका अध्यक्ष गोपाल गुराँगाईले व्यवसायीहरूलाई रिफ्रेस गराउँदै व्यवस्तताका बाबजुद स्वास्थ्यका लागि खेलकुदमा सहभागी हुने वातावरण सिर्जना गराउन र व्यवसायीहरुबीच मित्रवत सम्बन्ध बढाउन यो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहनु भएका दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोकूल श्रेष्ठ फुटसल प्रति पछिल्लो समय क्रेज बढिरहेको बताउनु हुन्छ । उहाँले व्यवसायीहरुबीचको आपसी सम्बन्धलार्य यसले थप मजबुत बनाएकोमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनु भयो ।

Facebook Comments Box