दमक/ झापाको कमल गाउँपालिका वडा नं २ मा सञ्चालित कमल नगर अस्पतालमा आवश्यक थप स्वास्थ्य उपकरणहरुको व्यवस्थापन भएको छ ।
अस्पताल व्यवस्थापन समिति अध्यक्षको समेत जिम्मेवारी सम्हालिरहनु भएका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको सक्रियतामा विशेष गरी अस्पतालमा डेन्टल सेवा तथा विभिन्न वडामा आवश्यक अक्सिजन सिलिण्डर लगायतका महत्वपूर्ण सामग्री सरकारले उपलब्ध गराएको हो ।
संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलसँग गाउँपालिका अध्यक्ष राईले भेटघाट गरी अस्पतालको व्यवस्थापनमा तत्काल आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापनसँगै अस्पतालको पूर्वाधार निर्माणमा बजेट उपलब्ध गराउन अनुरोध गर्नुभएको थियो । अस्पतालबारे मन्त्री पौडेलसँग भएको कुराकानीबारे प्रष्ट्याउँदै अध्यक्ष राईले भन्नु भयो– स्वास्थ्य क्षेत्रमा हाम्रो पालिकामा भइरहेको कामबारे मन्त्री ज्यूले प्रशंसा पनि गर्नु भयो र अस्पताललाई पूर्वाधारयुक्त र प्रविधिसँग जोडेर अघि बढाउने योजनामा सकारात्मक हौसला मिलेको छ ।

गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदै गर्दा अध्यक्ष राईले लिनु भएका महत्वपूर्ण निर्णयहरु मध्ये तत्कालिन तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्दै स्वास्थ्य बीमा सेवासहितको अस्पताल सञ्चालन गर्ने रहेको थियो । उहाँले निर्वाचित भएको ९ महिना भित्रैमा सो निर्णय अनुसार कमलको स्वास्थ्य सेवामा महत्वपूर्ण काम हुँदै आएको छ ।
पछिल्लो समय प्राप्त स्वास्थ्य उपकरणले कमल गाउँपालिकामा स्वास्थ्य सेवाको दायरा थप विस्तार हुने र कमलबासीका साथै आसपास क्षेत्रका बासिन्दाले गाउँमै विशेषज्ञ डाक्टरहरुसहितको गुणस्तरीय उपचार सेवा पाउने वातावरण बनेको अस्पताल व्यवस्थापन समिति सदस्यको समेत जिम्मेवारी सम्हालिरहनु भएका कमल– २ वडा अध्यक्ष अशोक सुब्बाले बताउनु भयो ।
कमल नगर अस्पताल प्रमुख दिपक प्रसाद दाहालका अनुसार अब डेन्टल चेयर सञ्चालनमा आएपछि दन्त उपचार सहज र प्रभावकारी हुनेछ । यसअघि दन्त सेवाका लागि स्थानीयले टाढा–टाढासम्म धाउनुपर्ने बाध्यता थियो भने अब गाउँमै आधुनिक उपकरण प्रयोग गरी आरामदायी उपचार पाउने उहाँले बताउनु भयो । यस्तै अक्सिजन सिलिन्डर र सक्सन मेसिन जस्ता उपकरणले आपतकालीन उपचार सेवामा थप सहयोग पुरयाउने जनाइएको छ ।
यि हुन् अस्पतालमा पछिल्लो पटक प्राप्त सामग्रीहरु
#) डेण्टल चियर मुल्य रु:- ६,७६,८७०/-
#) डेण्टल कम्प्रेसर मुल्य रु:-७८,९८७/-
#) अक्सिजन सिलिण्डर मुल्य रुः-५६,७४४/-
#) डेन्टल ईन्सटुर्न्समेन्ट सेट मुल्य:-१,०१,५८७/-
#) मेडिकेशन स्टेन मुल्य रु:-३०,५१०
#) ए.आर.ई. साउण्ड टाईमर मुल्य रु:- १०,५०९/-
#) सेन्ट्रिफ्यू मेसिन मुल्य रु:- ९३,१५१/-
#) पाईपपेट स्टेन
#) पल्स अक्सिमिटर हेन्ड हेल्ड
#) फुट अप्रेटेट् सक्सन मेसिन।