दमक/ झापाको दमक नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले आज एकैसाथ दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ ।
वडा कार्यालयको सभा कक्षमा एक कार्यक्रम मार्फत वडा भित्र संचालित उत्कृष्ट टोल विकास संस्थाहरु र वडालाई कर बुझाउने विभिन्न समुहमा वर्गीकरण गरी साना ठुला दुवै खाले कर दाताहरुलाई सम्मान गरेको हो ।
वडाबाट सम्पादन भएका योजना तथा कार्यक्रमहरु उत्कृष्ट सहकार्य र समन्वय गर्ने लक्ष्मी टोल विकास पहिलो , बराह टोल विकास दोस्रो र संरक्षण टोल विकास तेस्रो हुँदै सम्मानित भएका छन् । उत्कृष्ट टोल विकासका अध्यक्ष तथा प्रतिनिधिहरुलाई वडाध्यक्ष भिम प्रसाद पौडेल, वडा सदस्यहरु अतीत बान्तवा राई र तारादेवी रणपहेंलीले सम्मान गर्नु भयो ।


त्यस्तै उत्कृष्ट करदाताका रुपमा संस्थागत तर्फ सिद्धार्थ बोर्डिङ स्कुललाई र व्यक्तिगत साना तर्फ गौमाया कटुवाल, व्यक्तिगत उच्च करदाताको रुपमा बलराम पराजुली र पहिलो उच्च राजश्व बुझाउने गणेश श्रेष्ठ तथा महिला व्यवसायी तर्फ शारदा श्रेष्ठलाई सम्मान गरिएको हो ।
त्यस्तै सरकारी सटर (व्यवसायिक पसल कवल) सञ्चालन गर्ने मध्ये नियमित रुपमा समयमा कर बुझाउने महेश विश्वकर्मालाई सम्मान गरिएको वडा सचिव योगेश भट्टराईले जानकारी दिनु भयो ।
त्यस्तै उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीका रुपमा जीवन कोइरालालाई सम्मान गरियो । सोही अवसरमा बाल मैत्री वडा घोषणाका लागि आवश्यक सूचकहरुको अवस्थाबारे जानकारी गराउँदै नगरपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख सरिता भण्डारीले सूचकहरुको प्रमाणीकरण गरिएको जानकारी गराउनु भयो ।
उहाँले २०८३ भित्रमा सिङ्गै दमक नगर बालमैत्री स्थानीय शासन युक्त नगर घोषणामा यसले महत्व राख्ने बताउनु भयो ।
कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट नेकपा एमालेका वडा कमिटी अध्यक्ष राधाकृष्ण आचार्य, टोल विकास संस्थाहरुका तर्फबाट केदारनाथ घिमिरे र महेश पोखरेल साथै रेडक्रस दमक उपशाखा सचिव घनश्याम कोइराला, विद्यालयहरुका तर्फबाट विष्णु राई र तेजकुमार श्रेष्ठ र वडा बाल सञ्जाल अध्यक्ष शुभेच्छा बिमलीले वडाले थालनी गरेको सो कार्यक्रमको प्रशंसा गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा वडा सदस्य अतीत बान्तवाले स्वागत मन्तब्य राख्नु भएको थियो भने सञ्चालन वडा सचिव भट्टराईले गर्नु भएको थियो ।

Facebook Comments Box