दमक / दमकमा सञ्चालित मोडल बचत तथा ऋण सहकारी संस्थाले १४ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ ।
दमक उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित साधारण सभाको जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेम प्रसाद कोइरालाले उदघाटन गर्दै सहकारी क्षेत्रलाई मर्यादित बनाउन सहकारीकर्मीहरु आफैं इमान्दार हुनुपर्ने सुझाउनु भयो । संस्थाका शेयर सदस्यहरुनै संस्थाको मालिक हुने भएकाले सहकारी संस्थालाई कुन ठाउँमा कसरी पुरयाउने भन्ने छिनोफानो सदस्यहरुमै निर्भर रहने उहाँको भनाई छ ।
संस्थाका अध्यक्ष भोला बरालको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा १६ जना उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै ज्येष्ठ सदस्य तर्फ २७ जनालाई सम्मान गरिएको छ ।
साधारण सभाको उदघाटन कार्यक्रममा संस्थाका अध्यक्ष बरालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको बचत नीति अन्तर्गत न्यून बचत खातामा सदस्यहरुले १० रुपैयाँ देखि माथिको रकम जम्मा गर्न र फिर्ता लिन पाउने व्यवस्था रहेको स्मरण गराउनु भयो ।
साधारण बचत खातामा दैनिक ५० रुपैयाँ बचत गर्न सकिने जनाउँदै संस्थाले नारी बचत खाता, कर्मचारी बचत खाता, प्लान बचत खाता, विजनेश बचत खाता र बाल बचत खाता सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले १० बर्ष सम्मका बालबालिकाको नाममा खाता खोलेर १८ बर्ष उमेर पूरा भएपछि दैनिक १०० रुपैयाँ देखि २ लाख भन्दा माथि अधिकतमा रकम जम्मा गर्दा १२ प्रतिशत सम्म ब्याजदर उपलब्ध गराउने नीति लिएको छ । संस्थाले उपदान बचत खातामा रकम जम्मा गर्दा मासिक ५०० रुपैयाँ वा सो भन्दा बढी नियमित रुपले ६ बर्ष सम्म जम्मा गर्दा एकमुष्ठ दोब्बर ( सय गुणा भुक्तानी) दिने नीति लिएको जनाइएको छ ।
साधारण सभाको उदघाटन कार्यक्रममा जिल्ला सहकारी संघका लेखा समिति संयोजक चुडामणी ओझा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ ( गोपाल) दमक नगरपालिकाकी कार्यपालिका सदस्य ख्यामकुमारी परियार ( सरु) लगायतले शुभकामना मन्तव्य राख्दै सहकारी अभियानलाई उद्धेश्य र सिद्धान्त अनुरुप सार्थक रुपमा अघि बढाउनु पनेमा जोड दिनु भयो ।

सभामा संस्थाका लेखा समिति संयोजक विश्वेश्वर प्रसाद मिश्रले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका दुवै प्रतिवेदन सभाको बन्द सत्रले सर्वसम्मत पारित गरेको संस्थाका सचिव दिपक बरालले जानकारी दिनु भयो ।

 

Facebook Comments Box