दमक/ दमकमा मुख्य कार्यालय रहेको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले इकाईगत रुपमा १८ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बिर्तामोड, धरमपुर, गौरादह, सुरुङ्गा, बुद्धशान्ति र मोरङको उर्लाबारीमा सेवा केन्द्र सञ्चालन गर्दै आएको संस्थाले ति सेवाकेन्द्र अन्तर्गतका ईकगत साधारण सभाहरु सम्पन्न गरी निर्णय एकीकृत तथा प्रमाणीकरण गरेर औपचारिक समापन गरेको हो । कस्मीक पाटी प्यालेसमा नेपाल वचत तथा ऋण सहकारी संघ नेफ्स्कुनका केन्द्रिय महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा भएको साधारणसभाको उदघाटन सत्रमा वक्ताहरुले मुलुकको आर्थिक क्षेत्रमा ठुलो योगदान गर्ने सहकारी क्षेत्रलाई ब्यवस्थित बनाउन राज्यले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा झापा जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष तथा मेची सहकारी संस्था दमकका अध्यक्ष नारायणप्रसाद भट्टराई , दमक उद्योग बाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं गोपाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक बर्ष २०८१/०८२ मा ९४ करोड ४३ लाख ५ हजार ६ सय ७६ बराबरको कुल कारोवार गरेको उल्लेख गर्नु भयो ।

संस्थाले सोही अवधिमा ९१ लाख ९७ हजार २ सय २१ रुपैयाँ खुद नाफा गरेको जनाइएको छ ।
सो अवसरमा संस्थाले हरेक बर्ष प्रदान गर्दै आएको डाँफे सामुदायिक साकोस पत्रकारिता पुरस्कार पत्रकार गिरिराज भट्टराईलाई प्रदान गरिएको छ ।
यस बर्षको डाँफे सामुदायिक साकोस उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सप्तरङ्गी एफ.एम. दमकका प्रबन्ध निर्देशक समेत रहेका नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईलाई सम्मान गरिएको हो । पत्रकार भट्टराईलाई कार्यक्रमका प्रमुख अतिथी अधिकारी , संस्थाका अध्यक्ष न्यौपानेसहितका व्यक्तित्वहरुले खादा, सम्मान पत्र र नगद सहित सम्मान गर्नुभएको थियो ।
डाँफे सामुदायिक साकोसका उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्दै संस्थाले सदस्यमुखी थप कार्यक्रमहरु ल्याएको बताउनु भयो । संस्थाका सचिव लिलानाथ खनालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा लोपोन्मुख सन्थाल जातीका महिलाहरुले मातृभाषाको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । सो अवसरमा संस्थाले ज्येष्ठ शेयर सदस्य तथा विभिन्न बिधामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।