दमक/ झापाको दमकमा आज सोमबार राती १० बजेदेखि मंगलबार बिहान ५ बजेसम्मका लागि कर्फ्यूआदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले सूचना निकालेर दमकमा पूर्व तर्फ एशियन हाइवेमा रहेको रतुवा पूल, पश्चीममा डिपो, उत्तरमा फाल्गुनन्द चोक र दक्षिणमा हाइवेबाट तीन किलोमिटर दुरी भित्र कर्फयू जारी गरेको हो ।
कर्फयू आदेश जारीसँगे ति क्षेत्रमा कसैलाई पनि भेला हुन, आवतजावत गर्न, सभा , जुलुश प्रदर्शन गर्न , बेठक र घेराउ गर्न नपाइने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्धारा हस्ताक्षरित आदेशात्मक सूचनामा उल्लेख छ । सोमबार दिउँसो विशेष गरी दमकको आकाशे पूल आसपास क्षेत्रमा जम्मा भएका जेन–जी समुह समर्थित प्रदर्शनकारीहरुले सरकार र खासगरी प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्का नाराबाजी सहित प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा उनीहरुले दमक नगरपालिकाको प्रवेशद्धारमा तोडफोड गर्दै त्यहाँ रहेका केही मोटरसाइकलमा आगजनी पनि गरे । सो स्थितीलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली प्रहार गर्दै पटक पटक धरपकड र लाठी चार्ज गर्दा आन्दोलनले थप उग्र रुप लिएको हो । प्रदर्शनकारीहरु दमक नगरपालिका अगाडीको प्रदर्शन लगत्तै दमक ९ मा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घर अगाडी पुगेका थिए । उनीहरुले त्यहाँ पनि प्रहरीको आँखा छल्दै घरमा ढुंगामुढा गरेका छन् । त्यस्तै दमक ९ मानै रहेको एमालेको नगर पार्टी कार्यालयमा समेत उनीहरुले ढुंगामुढा गरेर सामान्य तोडफोड मच्चाएका छन् । सो ठाउँमा समेत स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायरसँगै लाठी चार्ज गरेको थियो । विभिन्न ठाउँमा भएको घटनामा ११ जना प्रदर्शनकारीहरु घाईते भएका छन् । उनीहरु मध्ये एक जना सामान्य उपचारपछि घर फर्किएका र अन्य १० जना विएण्डसी अस्पताल र धरानस्थित घोपा क्याम्पमा उपचारका लागि लगिएका जनाइएको छ ।