दमक/  जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकको भौतिक पूर्वाधार तथा सेवा सञ्चालनमा सहयोग जुटाउने उद्धेश्यले नागरिकस्तरमा बनाइएको इलाका प्रहरी कार्यालय दमकको पुननिर्माण समितिमा दमकबासीहरुले धमाधम सहयोग गर्न थालेका छन् ।

शान्ती, सुरक्षा, सुव्यवस्था कायम गर्न सुरक्षा निकायको महत्वपूर्ण अंग नेपाल प्रहरीको सेवा आवश्यकता महसुस गर्दै यहाँका नागरिकहरुले नगद तथा जिन्सी सहयोग गरिरहेका हुन् ।
सो कामको नेतृत्वकर्ता मध्ये पुननिर्माण समितिमा कोषाध्यक्षको जिम्मेवारी दमक उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनु भएका सामाजिक तथा व्यवसायी व्यक्तित्व देवीप्रसाद गुरागाइँ (गोपाल)ले लिनु भएको छ ।
नगर प्रमुख रामकुमार थापाको संयोजकत्वमा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकूल श्रेष्ठ, संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ, प्रकाश बुढाथोकी सहितको समितिको सक्रियताका कारण छोटो समयमा नै प्रहरी सेवा पुनःसञ्चालनका लागि उल्लेखीय सहयोग जुटेको हो ।  गुरागाइँका अनुसार आज दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक थान चार पाङग्रे गाडी समेत उपलब्ध गराएको छ ।
संस्थाका अध्यक्ष रवि न्यौपानेले तत्कालिन अवस्थामा सार्वजनिक तथा व्यक्तिगत नागरिक सुरक्षाका लागि खटिने प्रहरीको कार्यसम्पादन प्रभावकारी रुपमा अघि बढाउन सहयोग पुगोस् भन्ने हेतुले दमक नगरपालिका र पुननिर्माण समिति मार्फत इलाका प्रहरी कार्यालय दमकलाई तत्कालका लागि सो चारपाङग्रे गाडी उपलब्ध गराएको बताउनु भयो ।

उहाँका अनुसार भाँडावर्तन व्यवसायी संघले ६५ हजार रुपैयाँ बराबरको भाँडा वर्तन, होलसेल व्यवसायी संघमा आवद्ध व्यवसायीहरुले ४५ हजार रुपैयाँ बराबरको फ्रीज, थान कपडा व्यवसायी संघले १ लाख १० हजार बराबरको कम्बल कपडा लगायतका सामान उपलब्ध गराएका छन् । त्यस्तै सुनचाँदी व्यवसायी संघले एक थान कम्प्युटर र प्रिन्टर, नुतन सेलर मिलले ४ बोरा चामल, भगवान बस्नेतले एक ट्रयाक्टर इँटा लगायतका सामान पनि सहयोग स्वरुप उपलब्ध गराउनु भएको छ ।

हाल सम्म प्राप्त सबै जिन्सी सहयोगको विवरण सार्वजनिक गर्दै समितिका कोषाध्यक्ष तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गुरागाइँले सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले नगद सहयोगको लागि पनि भोलीदेखि बैंक खाता नम्बर तथा क्यूआर कोड लगायतको व्यवस्था मिलाइने पनि उल्लेख गर्नु भयो ।
उहाँका अनुसार दमक नगरपालिकाबाट गठन भएको पुननिर्माण समितिले इलाका प्रहरी कार्यालय दमक र इलाका ट्राफिक प्रहरी कार्यालय दमकलाई समेत आवश्यक सहयोग जुटाउने तय भएको भए पनि ट्राफिक प्रहरी कार्यालयका लागि प्राप्त सहयोगको तथ्याङक विवरण समेत एकीकृत गर्दै एकद्धार प्रणालीबाटनै ट्राफिक प्रहरीको सेवा सञ्चालनमा सहयोग गरिनेछ ।

 

Facebook Comments Box