दमक/ उच्च शिक्षाका लागि सामुदायिकस्तरबाट स्थापना गरिएको दमक बहुमुखी क्याम्पस दमकको १४ औं क्याम्पस सभा सोमबार सम्पन्न भएको छ ।
सभाले क्याम्पसमा सञ्चालन हुने महत्वपूर्ण योजनाहरुसहितको प्रस्ताव पारित गरेको छ । झण्डै ३१ करोड रुपैयाँ बराबरको बार्षिक बजेट कार्यक्रम पनि सभाले पारित गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले क्याम्पसको स्थापना इतिहासदेखि वर्तमान सम्मको अवस्था र भावी योजनाहरु सभामा प्रस्तुत गर्नु भयो ।
गुणस्तर प्रमाणीकरण (क्यूएए) हासिल गरेको सो क्याम्पस हाल करिब ५ हजार हाराहारीमा बिद्यार्थीहरु अध्यययनरत रहेका र ६८ जना प्राध्यापक र २५ जना कर्मचारी कार्यरत रहेका जनाइएको छ ।
शैक्षिक बिकासमा आफूलाई उत्कृष्ट गन्तव्यको रुपमा बिकास गर्दै लगेको यो क्याम्पसका ३ जना प्राध्यापकहरुले बिद्यावारिधी हासिल गरेका तीन जनाले एम्फील उपाधि प्राप्त गरेका छन भने १० जना पिएचडी अध्ययनरत र ३ एम्फील अध्ययनरत रहेका क्याम्पस सभामा अध्यक्ष भण्डारीले जानकारी गराउनु भयो । विश्व बिद्यालय अनुदान आयोगको छनोटमा परेका देशभरका ७ वटा क्याम्पस मध्ये लिड क्याम्पसका रुपमा दमक बहुमुखी क्याम्पस चयन भई गत असारमा कोशी प्रदेशका ३० जना प्राध्यापकहरुको व्यवसायिक बिकास कार्यक्रम सम्पन्न गरिएको सभामा जानकारी गराइयो । सो क्याम्पसमा यसै बर्ष महिला छात्रावास र यातायात सञ्चालनमा ल्याइने र सोका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको पनि सभामा अध्यक्ष भण्डारीले जानकारी दिनु भयो ।

संघीय सरकारको ३ करोड रुपैयाँको अनुदानमा सुविधा सम्पन्न प्रशासनिक तथा छात्रावास भवन निर्माण कार्य शुरु गरिएको , बीबीए भवनमाथि विश्व बिद्यालय अनुदान आयोगको १ करोड अनुदानमा संरचना निर्माण भइरहेको र हाल सम्म सो योजनाका लागि ५७ लाख रुपैयाँ प्राप्त भइसकेको, प्रदेश सरकारको ३ करोड अनुदानमा सुविधा सम्पन्न पुस्तकालय निर्माणका लागि सम्झौता भइ डीपिआर निर्माणको प्रकृया अघि बढेको , आइसिटी सिस्टम, नेटवर्क र डिजिटल व्यवस्थापन, आधुनिक प्रयोगशाला सामग्रीको व्यवस्थापन लगायतका कामहरु २०८२ चैतदेखि २०८३ बैशाख मसान्त सम्ममा सम्पन्न गर्ने गरी सम्झौता भइसकेको क्याम्पस प्रमुख यज्ञराज गिरीले जानकारी दिनु भयो ।


क्याम्पस सभाको उदघाटन सोही क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा शैक्षिक व्यक्तित्व मोहन भण्डारीले गर्नु भएको थियो । उदघाटन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य नम्बरलाल धिमाल, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल, क्याम्पसका पूर्व अध्यक्ष देवीप्रसाद दाहाल, दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रवि केसी , पूर्व क्याम्पस प्रमुख उत्तम प्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राख्दै समुदायको सक्रियतामा सञ्चालित यो क्याम्पस यस क्षेत्रका लागि गौरवको बिषय भएको चर्चा गर्नु भयो ।

सभामा क्याम्पस प्रमुख गिरीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसका लक्ष्य र चुनौतीहरुका बिषयमा अवगत गराउनु भयो । उहाँले प्रतिवेदन मार्फत क्याम्पसको आम्दानी खर्चको विवरण समेत सार्वजनिक गर्नु भयो । सभामा क्याम्पसका लेखा समिति संयोजक कूलबहादुर बस्नेतले क्याम्पसमा आर्थिक पारदर्शीताका लागि लेखा प्रणालीलाई प्रविधिको उच्च सदुपयोग गर्दै व्यवस्थित गर्ने क्रममा अघि बढिएको जानकारी गराउनु भयो । उहाँले लेखा प्रणालीका बिषयमा समितिका तर्फबाट क्याम्पस सञ्चालक समिति र प्रशासनलाई आवश्यक राय सुझाव समेत प्रस्तुत गर्नु भयो ।