दमक/ दमकको पाथीभरा गेष्ट हाउसमा कार्यरत एक महिला मृत फेला परेकी छन् ।
मंगलबार दिउँसो १२ः३० बजे दमक वडा न.६ बस्ने रुपादेबी कडरियाले सञ्चालन गर्दै आएको गेष्ट हाउसमा काम गर्दै आएकी धनकुटा पाख्रीवास स्थायी घर भएकी अन्दाजी ३६ बर्षकी सम्झना परियार मृत फेला परेकी हुन् ।
उनी अघिल्लो दिन सोमबार राति खाना खाई तीन तले होटलको दोस्रो तलाको कोठामा सुतेकी थिइन् । मंगलबार दिउँसोसम्म नउठेपछि सोही गेष्ट हाउसमा बसेकी दुर्गा बर्देवाले बोलाउन जाँदा नबोलेको र हेर्दा घोप्टो परी सुतिरहेको अबस्थामा फेला परेकी थिइन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रकृया पूरा गरी शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी रामप्रसाद तिमल्सीनाले जानकारी दिनु भयो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको पनि उहाँले बताउनु भयो । त्यसैगरी केही दिन अघि दमक ७ स्थित पशुहाट परिसरमा मृत भेटिएका एक पुरुषका बिषयमा पनि प्रहरीले सुक्ष्म अनुसन्धान जारी रहेको जनाएको छ । अनुसन्धानमा आवश्यक मानिसहरुसँग सोधपुछ र विभिन्न कोणबाट अनुसन्धान गर्ने काम भइरहेको छ, – डीएसपी तिमल्सीनाले निष्कर्ष न्यूजसँगको कुराकानीमा भन्नु भयो ।