दमक/ दमक ५ मा मुख्य कार्यालय स्थापना गरी झापा र मोरङका विभिन्न ठाउँमा सेवा केन्द्र मार्फत वित्तीय कारोबार गर्दै आएको द एभरेस्ट बचत तथा ऋण सहकारी संस्थाले १४औ वार्षिक साधारण सभा विशेष समारोहबीच समापन गरेको छ ।
यसैसाता बुद्धशान्तीस्थित बुधबारे सेवा केन्द्रबाट सेवा केन्द्रस्तरमा साधारण सभा शुरु गरेको सो संस्थाले विर्तामोड , सुरुङगा र उर्लाबारी सेवा केन्द्र हुँदै आज दमक क्षेत्रका सदस्यहरुको सहभागितामा माइन्यूट प्रमाणीकरण तथा निर्णय एकीकृत गर्दै सो सभा सम्पन्न गरेको हो ।


दमक उद्योग वाणिज्य संघको सभाकक्षमा जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष दिपक खरेलको सभापतित्वमा सञ्चालन भएको सभा समापन कार्यक्रममा संस्थाका उत्कृष्ट कारोबारी शेयर सदस्य र उत्कृष्ट बाल बचतकर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको संस्थाका सहव्यवस्थापक धर्मानन्द भट्टराईले जानकारी दिनु भयो ।
कार्यक्रममा मेनेजर्स क्लब अफ दमकका अध्यक्ष खोमप्रसाद बगाले, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


संस्थाको ४ करोड ५५ लाख २३०० सेयर पुँजी रहेको , २८ करोड २३ लाख ७५ हजार बचत , ३२ करोड ६६ लाख ऋण लगानी रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख छ । सो संस्थाले स्थापनाकालमा बार्षिकोत्सवको अवसर पारेर दमकको थाना रोडमा (सडक किनार)मा वृक्षारोपण गरेको थियो । संस्थाले रोपेका बिरुवाले अहिले दमकको मुख्य बजार क्षेत्र प्रवेशद्धारनै हरियाली र आकर्षक बनाएको छ । संस्थाले यसका अतिरिक्त उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार, बार्षिकोत्सवमा रक्तदान, फलफूल वितरण, अपाङगता भएकाहरुलाई ह्वीलचेयर प्रदान गर्ने जस्ता सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत काम गर्दै आएको थियो । विशेष परिस्थितीका कारण पछिल्लो समय त्यस किसिमका कार्यक्रमहरु नगरेको सो संस्थाले आगामी बर्षदेखि त्यस किसिमका सामाजिक क्षेत्रमा समेत आफ्ना कार्यक्रमहरुलाई अघि बढाउने लक्ष्य राखेको संस्थाका सचिव ज्ञाननाथ पौडेलले बताउनु भयो ।

 

Facebook Comments Box