दमक/ झापाको दमकमा यही असोज ३१ गते झापा जिल्लामै पहिलो पटक नेपाल विज्ञान उत्सव २०२५ आयोजना गरिने भएको छ ।
इन्गेज नेपाल वीथ साइन्सले रिसर्च इन्स्टीच्यूट फर बायो साइन्स एण्ड बायो टेक्नोलोजी र झापा मोडल अंग्रेजी मावि दमकसँगको सहकार्यमा हुने सो विज्ञान उत्सवमा विज्ञान सम्बन्धिका जानकारीमूलक ३० वटा स्टल रहने छन् ।
सो बारे जानकारी दिन आयोजक र सहकार्य गरिएका संस्थाहरुले बुधबार बिहान झापा मोडल अंग्रेजी माविमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार त्यस किसिमको नमुना कार्यक्रम झापा जिल्लामै पहिलो पटक यहाँ हुन लागेको हो ।
जहाँ विज्ञान सम्बन्धिको खोज अनुसन्धानमा सक्रिय तीन जना पाहुनाहरु पनि सहभागी हुनुहुनेछ । सो उत्सव मार्फत झापा मोडलसहित झापाका पाँच बिद्यालयका ५६० जना बिद्यार्थीहरुलाई अन्तरक्रियात्मक र सहज रुपमा विज्ञान प्रविधि, इञ्जनियरिङ, गणित सम्बन्धि कार्यशालाहरु मार्फत प्रयोगात्मक विधिबाट ज्ञान प्रदान गरिने झापा मोडल अंग्रेजी माविका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
सो कार्यशालाले बिद्यार्थीहरुमा विज्ञान सम्बन्धिका जिज्ञासा, वैज्ञानिक सोच र व्यवहारिक सिकाईलाई प्रोत्सहित गर्ने विश्वास लिइएको आयोजक इन्गेज नेपाल वीथ साइन्सका प्रतिनिधि डा. अल्बा अवादले बताउनु भयो ।
नेपालमा यस किसिमका कार्यक्रमहरुको आवश्यकता र औचित्यबारे बढी भन्दा बढी जानकारी गराउनु र कुनै पनि बैज्ञानिक खोज अनुसन्धानलाई प्राथमिकता दिनु संस्थाको लक्ष्य रहेको रिबका प्रतिनिधि प्रज्वल भण्डारीले जानकारी दिनु भयो ।
सो क्रममा बिद्यार्थीहरुले रिसर्च इन्स्टीच्यूट फर बायो साइन्स एण्ड बायो टेक्नोलोजीकी प्रिन्सीपल डा. सुनिता घिमिरे गौतम, इन्गेज नेपाल वीथ साइन्सकी को–फाउण्डर अल्बा अवाद, फुटुङ रिसर्च इन्स्टीच्यूटकी रिसर्च असिस्टेन्ट रोश्नी तामाङ र फिकस बायोटेक प्रालिका मेनेजिङ डाइरेक्टर दुर्लभ कार्कीसँग पनि सम्बन्धित बिषयहरुमा संवाद र अन्तरक्रिया गर्न पाउने कार्यक्रम आयोजनाका लागि सहकार्य गरेको झापा मोडल अंग्रेजी मावि (जेम्स)का प्रिन्सीपल सागर श्रेष्ठले जानकारी दिनु भयो ।
सो विज्ञान उत्सवको बिद्यालयका बिद्यार्थीहरु बाहेक झापाका सबै सामुदायिक तथा संस्थागत बिद्यालयका शिक्षक, प्रतिनिधि, क्याम्पसका प्रमुख तथा विज्ञान बिषयका प्राध्यापकहरु, समुदायका अन्य इच्छुक सरोकारवालाहरुले पनि अवलोकन गर्न पाउनेछन् । सो विज्ञान उत्सव आयोजना गर्न दमक नगरपालिका कार्यालय, वडा नं ७, ८ र ९ का साथै रोटरी क्लब अफ दमक, युरोफिन्स फाउण्डेशन, सुरज शिक्षा प्रतिष्ठान, मारवाडी सेवा समिति दमक लगायतको पनि सहयोग र समर्थन रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । बिद्यालयकी शिक्षा संयोजक जस्मिन श्रेष्ठको अध्यक्षतामा सो पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।