संखुवासभा/ तल्लो हेवाखोला ‘ए’ जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा आयोजनाको प्रवद्र्धक कम्पनी पाँच खपन हाइड्रोपावर प्रा.लि. र बैंकहरु बिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको पाँचखपन हाइड्रोपावर प्रालिका सञ्चालक सदस्य थरेन्द्रराज पौडेलले जानकारी दिनु भयो । १ अर्ब ४० करोड २५ लाख रुपैयाँ लागत अनुमान रहेको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी रहने छ ।

सम्झौता अनुसार सिद्धार्थ बैंक लिमिटेडले ५० करोड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ४८.१७ करोड ऋण प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा सिद्धार्थ बैंक लिमिटेडको तर्फबाट अमित श्रेष्ठ, सहायक वित्तिय संस्था राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट दामोदर ज्ञवाली र पाँच खपन हाइड्रोपावर प्रा.लि.को तर्फबाट अध्यक्ष बसन्तकुमार तामाङले हस्ताक्षर गर्नुभएको छ ।
कम्पनीका अध्यक्ष तामाङले सबैको विश्वास लाई आत्मासाथ गर्दै आयोजना निर्धारित समय सिमा भित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कम्पनीले संखुवासभाको पाँच खपन नगरपालिका अन्तर्गत बहने हेवाखोलाको पानी प्रयोग गरि ६.८४८ मेगावाट क्षमताको तल्लो हेवाखोला ए जलविद्युत आयोजना निर्माण गर्नेछ ।
२०८३ चैत्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको यस आयोजनाको उत्पादित विद्युत आयोजना देखि ३.८ किलोमिटर टाढा, ३३ के.भी क्षमताको वानेश्वर सवस्टेशनमा जोडिने छ । अध्यक्ष वसन्त कुमार तामाङ्गसहित पाँचखपन हाइड्रो प्रालिका सदस्यहरु ई. अमन श्रेष्ठ, थरेन्द्रराज पौडेल राजन निरौला र उदय कान्त झा रहनु भएको छ ।
