दमक/झापाको दमक ६ मा सञ्चालित सब्जी बजार कृषि सहकारी कार्यालयको नयाँ कार्यालय उद्घाटन गरिएको छ ।

संस्थाले आफ्ना सदस्यहरुको चापलाई मध्यनजर गर्दै र वित्तिय कारोबारमा सहजताका लागि दमक ६ देवकोटा चोकस्थित साविककै कायाृलय रहेको घरमा संरचनागत विस्तार गर्दै तेस्रो तलामा व्यवस्थित रुपमा कार्यालय सञ्चालनमा ल्याएको हो । सो कार्यालयको आज दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उद्घाटन गर्नुभयो ।
संस्थाका अध्यक्ष विपिन बस्नेतले सेयर सदस्यहरुको बृद्धिसंगै कारोबार समेत बढिरहेकाले सहजताका लागि नयाँ कार्यालय व्यवस्थापन गरिएको बताउनु भयो । करीब ५ बर्ष अघिदेखी दमकमा स्थापना भएको सो कृषि सहकारीमा कृषि उपजको कारोबार गर्ने शेयर सदस्यहरु रहेका छन् ।
संस्थाले कृषि उपजको व्यवसायीकरणका लागि छरिएर रहेको पुँजीलाई नियमित बचत मार्फत संकलन गरेर आवश्यक पुँजी उपलब्ध गराउने तथा सदस्यमुखी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
बार्षिक करीब एक करोडको कारोबार गर्दै आएको सो सहकारीमा ४ सय बढी शेयर सदस्यहरु छन भने करीब आधा दर्जन युवा युवतीहरुले स्वरोजगारको अवसर पाएका छन् ।
