झापा/ असोज पहिलो साता हत्या भएकी मोरङ लेटाङ नगरपालिका – २ फडानीकी १३ वर्षीया अंशु गौतमका हत्यारा पक्राउ परेका छन्। उनको हत्यामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले बिचारी भनिने पदम अधिकारीलाई पक्राउ गरेको छ ।
अधिकारी अंशुका छिमेकी भएको प्रहरीले जनाएको छ । असोज २१ गते घरबाट हराएकी अंशुको शव १८ दिनपछि लेटाङ र बेलबारीको सिमानामा पर्ने बेलबारी–चिसाङ साझेदारी सामुदायिक वनभित्र कुहिएको अवस्थामा फेला परेको थियोे ।
स्थानीयले घाँस काट्न जाँदा सव देखेर प्रहरीलाई खबर गरेका थिए । अंशुको शव टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको थियो । अंशुको बलात्कार पछि धारिलो हतियार प्रयोग गरी हत्या गरेको त्यसबेला प्रहरीले जनाएको थियोे । घटनास्थलमा अंशुले लगाएका ट्राउजर र हाफपाइन्ट फुकालिएको अवस्थामा भेटिएको थियोे ।
अंशु लक्ष्मी माध्यमिक विद्यालयकी कक्षा ५ मा अध्ययनरत थिइन् । अंशुको शवको पोष्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियोे । पोष्टमार्टम रिपोर्टमा उनको हत्या भएको खुलेको थियोे । सोही रिपोर्टको आधारमा प्रहरीले अपराधीको खोजी गरिरहेको थियोे । अधिकारी उनकै घरबाट पक्राउ परेका हुन् ।
उनी भारत आसामको तीनसुकिया स्थित कोइलाखाँदमा यतिका दिनसम्म लुकेर बसेका थिए ।
हिजो घर फर्किएका अधिकारी सूचना प्रहरीले पाएपछि गएराति पक्राउ गरेको अंशुका परिवारलाई उधृत गर्दै गौतम समाज झापाका अध्यक्ष नीतिरमण गौतमले बताउनुभयो।
घटना लगत्तै अघिकारी बेपत्ता भएका थिए ।
आसम पुगेका अधिकारीलाई उनको परिवार र छिमेकीले फोन गरेर घर आउन भनेका थिए ।
त्यसपछि अधिकारी घर आएर एकदिन लुकेर बसेका थिए । अधिकारीले आफूले बलात्कार गरेपछि हत्या गरेको स्वीकारेको बताइएको छ ।
अंशुले त्यसबेला रुदै बलात्कारको घटना सार्वजनिक गरिदिने बताएपछि घरबाट धारिलो हतियार ल्याएर आफूले हत्या गरेको र जंगलमा लगेर शव फालेको अधिकारी प्रारम्भीक बयान दिएका छन् । हत्यामा प्रयोग भएका हँसिया र खुकुरीको बिँड घटना स्थल नजिकै जलाएको र हतियार घरभित्र ( मचानमा ) लगेर लुकाएको बताएका छन् ।
त्यस लगत्तै अधिकारी आसाम भागेको खुलेको छ । ती हतियार प्रहरीले बरामद गरिसकेको छ ।
अधिकारी विरुद्ध आज नै अंशुका बुबा नवीन गौतमले मोरङ प्रहरीमा किटानी जाहेरी दिनु भएको छ । अधिकारीलाई भोलि बिहान १० बजे मोरङ प्रहरीले सार्वजनिक गर्दैछ । अंशुको भोलि नै धार्मिक संस्कार अनुसार सदगती गरिने परिवारले जनाएको छ ।