बिर्तामोड/ नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो ।
प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित एपिएफले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
पुलिसले फाइनल खेलमा पहिलो, तेस्रो र चौथो सेट जित्यो भने एपिएफले दोस्रो सेट जितेको थियो । पुलिसले पहिलो सेट २५–२३, तेस्रो सेट २५–१८ र चौथो सेट २५–२१ ले जितेको हो । एपिएफले दोस्रो सेटमा पुलिसलाई २५–२० ले हराएको थियो ।
प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी पुलिसकी आशिका क्षेत्री भइन् । उनले नगद १५ हजार र ट्रफी पाइन् । बेस्ट कोच पुलिसका रुपेश विष्ट भए । उनले नगद १० हजार र ट्रफी पाए ।
त्यस्तै, बेस्ट स्पाइकर एपिएफकी सृष्टि खड्गी, बेस्ट ब्लकर पुलिसकी मनिषा चौधरी, बेस्ट सर्भर एपिएफकी जोस्ना महतोे, बेस्ट सेटर पुलिसकी कमला पुन र बेस्ट लिबेरो एपिएफकी जमुना रसाइली भए । उनीहरुले नगद १० हजार र ट्रफी प्राप्त गरे ।
लक्ष्मी माविको खेलमैदानमा भएको प्रतियोगिताको आयोजक अर्जुनधारा नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी मावि थिए ।
विजेता तथा उपविजेतालाई आयोजक अध्यक्ष सुरेन्द्र धिमाल, प्रमुख अतिथि अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रतियोगिताका प्रमुख सल्लाहकार वीरबहादुर राई, संयोजक प्रभा काम्बाङ, नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष मदन खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।