दमक/ झापाको दमक ५ स्थित मेची सेकेण्ड्री बोर्डिक स्कूलमा साप्ताहिक रुपमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार पाँच सय बढी बिद्यार्थीहरुलाई सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक नियमको पालना सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालयले इलाका ट्राफिक प्रहरी कार्यालय दमकसँगको सहकार्यमा बिद्यार्थीहरुलाई ट्राफिक नियमबारे जानकारीमुलक प्रशिक्षणसहित सडक दुर्घटनाबाट बच्ने उपायहरुबारे प्रशिक्षण दिएको हो ।
सो अवसरमा इलाका ट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज प्रहरी नायव निरिक्षक विजय राईसहित ट्राफिक प्रहरी टोलीले सडक दुर्घटनाका कारणहरु, दुर्घटना न्यूनिकरणका लागि समुदायको भुमिका, बिद्यार्थी र अभिभावकहरुले सार्वजनिक यातायात र निजी सवारी साधनको प्रयोग र यात्राका क्रममा अपनाउनु पर्ने सावधानीहरु लगायतका बिषयमा सहजिकरण गरिएको थियो ।
बिद्यालयका संस्थापक सञ्चालक एवं शैक्षिक सल्लाहकार खेमलाल पोखरेल, ट्राफिक प्रहरी प्रमुख राई, अभिभावकहरुको तर्फबाट पत्रकार बिष्णु पौडेलले त्यस किसिमका कार्यक्रमको आवश्यकता र महत्वबारे प्रष्टयाउँदै मानिसको जिवनमा सवारी दुर्घटनाको जोखिम सधै हुने र ज्यानै जाने सम्मका दुर्घटना हुने भएकाले यसबाट बच्ने एकमात्र उपाय ट्राफिक नियमको पालनानै भएकोमा जोड दिए । कार्यक्रमको सञ्चालन शिक्षक होमराज खतिवडाले गरेका थिए भने स्वागत मन्तव्य मेची बाल क्लबका अध्यक्ष बिदुर पौडेलले गरेका थिए ।
बिद्यालयका प्रिन्सीपल श्रवणकुमार पोखरेलले बालबालिकाहरुलाई साप्ताहिक रुपमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै समुदायसँग जोड्ने अभिप्रायले यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने गरिएको बताएका छन् ।