चुलाचुली/  इलामको चुलाचुली ३ मा रहेको शिवओरक मिलन पोखरीको पर्यटन बिकासका लागि यस बर्ष बृहत रुपमा चासोक तङनाम साँस्कृतिक कार्यक्रम आयोजना गरिँदैछ ।

स्थानीय युवाहरुको सक्रिय सहभागितामा किराँतहरुको साँस्कृतिक पर्व चासोक तङनामको अवसर पारेर पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै आन्तरिक पर्यटनको बिकासका लागि साँस्कृतिक कार्यक्रमसहित चासोक मनाउन लागिएको हो ।

चासोक तङनाम आयोजक समितिले आज चुलाचुली ३ को मिलन चोकमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक धार्मिक पर्यटनको क्षेत्रका रुपमा रहेको शिव ओरक मिलन पोखरीमा यही पुष ५ गते चासोक तङनाम (उद्यौली) यले तङवे ५०८५ साँस्कृतिक कार्यक्रम आयोजना गरिएको जानकारी दिएको हो ।

समितिका अध्यक्ष टेकबहादुर नुगो (ओजाहाङ)ले सो साँस्कृतिक कार्यक्रमका माध्यमबाट त्यस क्षेत्रको पर्यटन बिकासमा मद्धत पुग्ने विश्वास लिइएको बताए । उनले इलामको कान्छो पहाड र तराईबाट सबैभन्दा नजिकको पहाडका रुपमा रहेको यो क्षेत्र प्राकृतिक रुपमानै आकर्षक रहेकोले झापा मोरङ र इलामका करिब ३ हजार भन्दा बढी मानिसहरुले सो साँस्कृतिक कार्यक्रम र त्यहाँको प्राकृतिक सौन्दर्यतालाई नियाल्ने मौकाका रुपमा उपयोग गर्न सक्ने विश्वास लिइएको बताए । सो कार्यक्रममा कलाकारहरु सुनिता थेगिम लिम्बु, बबिना किराँती लगायत आधा दर्जन बढी चर्चित कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

आयोजक समितिका पुष्पराज आङदेम्बेले शिवओरक पर्यटकीय क्षेत्रको पृष्ठभुमी , यसको अवस्था र बिकासको सम्भावनाबारे प्रष्टाउँदै परापुर्व कालमा भगवान शिवले बासस्थान गरेको ठाउँका रुपमा यस ठाउँलाई लिने गरिएको बताए । उनले चासोक तङनाम प्रकृतिसँग जोडिएको एउटा साँस्कृतिक पर्व समेत भएकाले सबै जातजाती भाषभाषीहरुको लागि यो महत्वपूर्ण भएको बताए ।

स्थानीय मणिकुमार केरुङले अन्नबाली उत्पादन भएपछि यसलाई मानवजातीले खानु अघि देवी देवतालाई चढाउनु र प्रकृतिलाई सम्मान सहित चढाएर मात्रै सेवन गर्ने प्रचलन रही आएको र यसैलाई न्वागी पूजा समेत भन्ने गरिएको , किराँतीहरुको नयाँ बर्ष समेत यसैबेलादेखि शुरु हुने भएकाले चासोक एउटा साँस्कृतिक विबिधताले भरिएको, प्रकृतिसँग जोडिएको पर्वका रुपमा रहेको उल्लेख गरे । उनले सामाजिक एकता र सदभावलाई कायम राख्न पनि यस किसिमका साँस्कृतिक कार्यक्रमहरुले योगदान दिने विश्वास लिइएको बताए ।

न्वागी पूजाआजासहित शुरु हुने सो कार्यक्रममा जातीय पहिरन लगाएर विभिन्न जातजातीका परम्परागत लोकभाकाहरुमा नाच्ने, गाउने र युवा पुस्तालाई आकर्षित गर्न स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको समेत प्रस्तुती राखिने आयोजकले जनाएको छ । स्थानीय सञ्जय लिम्बुले शिवओरक पर्यटकीय क्षेत्रको बिकासमा स्थानीय सरकार (चुलाचुली गाउँपालिका) ले चासो र महत्व राखेर बजेट व्यवस्थापन गरिदिएको उल्लेख गर्दै आगामी दिनमा यसको बृहत्तर बिकासका लागि योजना अघि बढाउने स्थानीयबासीले लिएको बताए ।

सोही दिन गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, आयोजक समितिको टिम र सञ्चारकर्मीहरुको समुहले कार्यक्रमस्थल शिवओरक पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन समेत गरेको छ । कार्यक्रमलाई भव्य र उपलब्धीमुलक बनाउन स्थानीय सरकारका तर्फबाट गरिनुपर्ने सहयोगमा कमि आउन नदिने अध्यक्ष केरुङले प्रतिबद्धता जनाएका छन् ।

Facebook Comments Box