दमक/ झापाको दमकका उद्यमी, व्यवसायीहरुको साझा संस्था दमक उद्योग वाणिज्य संघमा रहेको व्यवसायी हितकोष मार्फत एक बर्षको अवधिमा कूल २० जना व्यवसायीहरुलाई नगद ६ लाख ३९ हजार २ सय ५० रुपैयाँ राहत सहयोग प्रदान गरिएको छ ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँका अनुसार गत आर्थिक बर्ष २०८१/०८२ मा मात्रै सो कोषबाट हित कोषबाट राहत प्रदान गर्ने सम्बन्धिको कार्यविधि अनुसार एक जना प्रोप्राइटरको निधन भएकाले एक लाख रुपैयाँ र अन्य प्रोप्राइटरको परिवारमा शोक परेकाले प्रति परिवार नगद २५ हजार रुपैयाँका दरले सो राहत रकम प्रदान गरिएको हो ।
संघका अनुसार दमक ३ स्थित लक्ष्मी ट्रेडर्सका प्रोप्राइटर मिश्रीलाल साहको निधनमा उनको परिवारलाई हितकोषबाट नियमानुसार एक लाख रुपैयाँ प्रदान गरिएको थियो ।
संघले व्यवसायी हितकोषमा आवद्ध व्यवसायीक फर्मका प्रोेप्राइटर स्वयंको निधनमा एक लाख रुपैयाँ राहत प्रदान गर्ने गरेको छ भने प्रोप्राइटरको एकाघरमा कसैको निधन भएको अवस्थामा नगद २५ हजार रुपैयाँसहित परिवारमा संघको तर्फबाट भेट गरी शोक सभा गर्दै आएको छ ।
त्यसैगरी सो कोषबाट एक जना बिरामीलाई आवश्यक रगत निशुल्क उपलब्ध गराउने क्रममा नगद १४ हजार २ सय ५० रुपैयाँ भुक्तानी गरिएको संघका तृतीय उपाध्यक्ष रुवल अधिकारीले जानकारी दिए । संघले घरेलू तथा साना उद्योग कार्यालयमा फर्म दर्ता गरी नविकरण गराउन सहजीकरण पनि गर्दै आएको छ ।
त्यसैगरी संघले सदस्यता दर्ता भएका व्यवसायीक फर्महरु ६९ वटालाई कूल ३४ हजार रुपैयाँ छुट प्रदान गरिएको छ भने नविकरण भएका कूल २ हजार २ सय ७० व्यवसायीक फर्मलाई नविकरण शुल्कमा दिइएको छुट सुविधा बापतको रकम ४ लाख ६ हजार हाराहारी रहेको जनाइएको छ ।
दमक उद्योग वाणिज्य संघमा गएको एक आर्थिक बर्षको अवधिमा नयाँ ६९ वटा व्यवसायिक फर्महरु आवद्ध भइ सदस्य बनेका छन भने २ हजार २ सय ७० वटा फर्महरु नविकरण भएका एवं आजिवन नविकरण भएका २८ वटा समेत गरी कूल २ हजार ३ सय ६७ फर्म हाल संघको सदस्यका रुपमा रहेका छन् ।
तर यसपटक हुन लागेको ३४ औं बार्षिक साधारण सभा अन्तर्गत हुने निर्वाचनमा मत हाल्न पाउने योग्यताका व्यवसायीक फर्मको संख्या २ हजार २ सय ९८ रहेको संघले जनाएको छ । संघको ३४ औं साधारण सभा यही पुष ४ गते शुक्रबार कस्मिक पाटी प्यालेस दमकको सभाहलमा सञ्चालन गर्ने अन्तिम तयारी पूरा भएको संघका द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेलले जानकारी दिए । सोही सभाले संघको बिधान बमोजिम निर्वाचन कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।