दमक/ झापाको दमक ९ चियादोकानमा स्थानीयहरुले आर्थिक सशक्तिकरणका लागि सञ्चालनमा ल्याएको शुभमंगल बचत तथा ऋण सहकारी संस्थाले १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कन्काई पाटी प्यालेसमा आयोजित साधारण सभाको अवसरमा विभिन्न बिधामा उत्कृष्ट शेयर सदस्यहरु १४ जना र ज्येष्ठ सदस्यलाई सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष उमाकान्त आचार्यको सभापतित्व र दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
साधारण सभामा बोल्दै प्रमुख अतिथी भट्टराईले सहकारीताका माध्यमबाट ससानो पुँजीलाई बढाएर स्वरोगारको अवसर सिर्जना गर्न सकिने भएकाले सहकारी क्षेत्रको प्रवद्र्धन र संरक्षणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । उनले आर्थिक अनुशासनको बाटो सहकारी सञ्चालक, कर्मचारी र संस्थाका शेयर सदस्यहरुले बिराएको खण्डमा मात्रै सहकारी संस्थाहरुमा संकट आउने भएकाले त्यस किसिमको बाटो बिराउने गतिबिधि हुनबाट जोगाउनु सबैको दायित्व हुने पनि बताइन् ।
साधारण सभाले विबिध कारणबश संस्थाको सञ्चालक समितिमा रिक्त रहेका चार पदहरुको समेत परिपुर्ति गरेको संस्थाका व्यवस्थापक दिलिप घिमिरेले जानकारी दिए ।
संस्थाको सञ्चालक समिति उपाध्यक्षमा सार्के धिमाल , कोषाध्यक्षमा रञ्जु भट्टराई (गडतौला) , र सदस्यहरुमा चम्पा मिश्र (आचार्य) तथा बिमला दर्जीलाई सभाले सर्वसम्मत चयन गर्दै सञ्चालक समितिलाई पूर्णता दिइएको हो । संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष आचार्यले बिषम परिस्थितीका बाबजुद सो सहकारीले गत आर्थिक बर्षमा एक करोड हाराहारीमा कारोबार बृद्धि गर्न सफल भएको बताए । संस्थाको बार्षिक वासलात करिब ७ करोड पुगेको जनाउँदै संस्थामा सदस्यहरुको आकर्षण बढदो रहेको अध्यक्ष आचार्यले जानकारी दिए ।

ठुलो निक्षेपलाई प्राथमिकता नदिई सानो अंकको निक्षेपलाई प्राथमिकतामा राखिएको र संस्थामा हाल १ हजार ६ सय हाराहारीमा सदस्यहरु रहेको अध्यक्ष आचार्यले जानकारी दिए । एक करोड भन्दा बढी शेयर पुँजी रहेको संस्थाले उद्धेश्य मिल्ने समान प्रकृतिका र स्थानीयस्तरमा सञ्चालित सहकारी संस्थाहरुसँग एकीकरणको लागि पनि ढोका खुल्ला राखिएको अध्यक्ष आचार्यले उल्लेख गरे ।
साधारण सभाको उदघाटन विशेष अतिथी दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष देवीप्रसाद दाहाल र अध्यक्ष आचार्यले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी उपप्रमुख भट्टराई, विशेष अतिथी दाहाल, समता कृषि सहकारी संस्थाका अध्यक्ष पर्शुराम रिजाल, दमक बहुमुखी क्याम्पसका प्राध्यापक भुमिप्रसाद दाहाल लगायतले पनि शुभकामना मन्तव्य राख्दै संस्थाको बृहत्तर हितमा शेयर सदस्यहरुको भुमिका उच्च हुने बताए ।
सो अवसरमा सहभागीहरुबीच लक्की ड्र मार्फत तीन जनालाई प्रथम, द्धितीय र तृतीय पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन सिताराम निरौलाले गरेका थिए ।



